नेपाल लगातार दोस्रोपटक च्याम्पियन

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल लगातार दोस्रोपटक च्याम्पियन बनेको छ ।  मंगलबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण जितेको हो । नेपाल  फुटबलमा सन् १९८४, १९९३, २०१६ र सन् २०१९ गरी चारपटक च्याम्पियन बनेको छ ।  नेपालका लागि पहिलो गोल खेलको १६ औं मिनेटमा अभिषेक रिजालले गरेका थिए । भुटानले खेलको ३८ औं मिनेटमा जवाफी गोल फर्काएको थियो । भुटानका लागि कप्तान चेम्चो ग्याल्चेनले गोल फर्काएका थिए । खेलको ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोलसंख्या दोब्बर बनाएका थिए ।  सागको यही संस्करणको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।  नेपाल १२ औं सागको स्वर्ण विजेता हो । नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो । त्यसैगरी पहिलो सागमा नेपालले बंगलादेशलाई ४-२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो भने सन् १९९३ मा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराएको थियो । भारत यस संस्करणको फुटबलमा सहभागी छैन ।

Shares

Be the first to comment on "नेपाल लगातार दोस्रोपटक च्याम्पियन"

Leave a comment

Your email address will not be published.


*