नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको अधिवेशन उद्घाटन

SAMSUNG CSC

दीक्षण समाचार
चरिकोट, पुस ३
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाको १३ औँ जिल्ला अधिवेशनको शनीबार उद्घाटन समारोह सम्पन्न भएको छ । गौरवशाली विगत, चूतौतीपूर्ण वर्तमान, गुणस्तरीय शिक्षाको लागि शैक्षिक सुशासन भन्ने नाराका साथ चरिकोट ए वान पार्टी प्यालेसमा आयोजित अधिवेशनको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले गर्नुभयो । सो क्रममा उहाँले शिक्षकहरुले कर्तव्य पूर्ण परिपालना गरेपछि आफ्नो हकअधिकारको लागि पनि आवाज बुलन्द पार्नुपर्ने उहाँले सुनाउनुभयो । शिक्षक संगठनले शैक्षिक, सामाजिक, राजनीतिक क्षेत्रमा आफ्नो अब्बल भूमिका देखाएको र यसलाई निरन्तरता दिइने बताउनुभयो ।
उहाँले शिक्षकको हकअधिकार सुनिश्चिताको मागसहित विभिन्न समयमा आन्दोलन गरिएको, सरकारसँग वार्ताका साथै सम्झौता भएपनि सोको कार्यान्वयनको लागि सरकारले चासो नदिएको आरोप लगाउनुभयो । सम्झौताहरु कार्यान्वयनको लागि राज्यले नयाँ शिक्षा ऐन बनाउनुपर्ने हुन्छ । तर अहिलेसम्म पनि २०२८ सालको शिक्षा ऐन जारी छ । यसको परिवर्तन गर्न राज्य उदासिन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “ २०२८ सालको शिक्षा ऐनलाई मुर्दावाद भनेर आन्दोलन गरेका शिक्षकहरु राजनितिमा लागेका २५ जना जति त शिक्षा मन्त्री भए होलान् । कस्तो शिक्षा ऐन होला त्यो, फेर्न कसैले नि नसक्ने !” उहाँले भन्नुभयो “असल र बैज्ञानिक शिक्षा नभई समृद्धि आउँदैन भन्नेहरुलाई समृद्धिका लागि उपयुक्त शिक्षा ऐन त्यही हो की क्या हो भनेर सोध्नुपर्ने बेला भएको छ ।” उहाँले शिक्षा ऐन नआउनुमा निजी निकाय, स्थानीय तहका साथै शिक्षकहरु पनि दोषी रहेको र सबैभन्दा बढी दोषी शिक्षा मन्त्री रहेको बताउनुभयो ।
कार्यक्रममा एमालेका पाेलिटोव्यूराे सदस्य आनन्दप्रसाद पोखरेलले समृद्धि, राष्ट्रियता, संविधान रक्षा, सामाजिक न्यायसहितको समाज स्थापना गर्ने आन्दोलनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रसंशा गर्नुभयो । चुनौती र समस्याहरु थुप्रै रहेको परिस्थितलाई सामना गर्दै थप क्रियाशील हुनुपर्ने सुनाउनुभयो । कुनै तत्वले शिक्षक संगठन र आन्दोलनलाई कमजोर पार्ने कोशिस गरिरहेपनि त्यो दुस्प्रयास सफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो “ शिक्षक संगठन शैक्षिक आन्दोलनको लागि, शैक्षिक गुणस्तरका लागि संस्कृति बनिसकेको छ । यसलाई कुनै ताकतले तर्साएर नतर्सिने र फुटाउन खोजेपनि फुट्दैन ।”

बागमती प्रदेश सांसद सरस्वती बस्नेतले प्रहरीको लागि छुट्टै अस्पताल भएजस्तै शिक्षकहरुको लागि पनि अस्पतालको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभयो म बागमती प्रदेशको सामाजिक विकास मन्त्री हुँदा शिक्षकहरुको लागि छुट्टै अस्पालको व्यवस्था हुनुपर्छ भनेर सरसल्लाह तथा छलफल गरेँ । तर त्यसको लागि धेरै ठूलो रकमको आवश्यक पर्ने रहेछ । यस्तो किसिमको अवधारणा प्रदेश सरकारमा ल्याउनुपर्ने भनेर हामी लाग्ने छौँ ।” उहाँले शिक्षक तथा विद्यार्थीको हकअधिकार सुनिश्चिताको लागि सबै निकायले चासो दिइनुपर्ने बताउनुभयो ।

शिक्षक संगठन प्रतिको अपेक्षा विस्तार र परिवर्तन भएको बताउनुहुँदैँ बागमती प्रदेश सांसद रचना खड्काले हिजो जिल्ला र मुलुकभित्र मात्रा प्रतिस्पर्धा थियो । तर अहिले विश्वसामु प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्ने चुनौतीका बीच शिक्षकहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उद्घाटन समारोहमा कोषमा ५ हजार भन्दा माथी रकम सहयोग गर्ने शिक्षक तथा अन्य दाताहरुलाई खादा ओढाई सम्मानपत्रले सम्मान गरिएको छ । कार्यक्रममा एमालेका दाेलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबू श्रेष्ठ, नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्दनारायण मानन्धर, शिक्षक महासंघका अध्यक्ष पदमबहादुर जिरेल लगायतले मन्तव्य व्यक्त गर्नुभयो । अधिवेशन उद्घाटन अघि गुणस्तरीय शिक्षा आजको आवश्यकता, भए गरेका सम्झौताहरु लागू गर, स्थायी शिक्षकको सामूहिक पदोन्नति कार्यन्वयन गर, राहत कोटालाई दरबन्दीमा रुपान्तरण गर लगायतका नारा लेखिएका प्लेकार्ड सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । अधिवेशनले तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Shares

Be the first to comment on "नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको अधिवेशन उद्घाटन"

Leave a comment

Your email address will not be published.


*