इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २३
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको सुविधा सम्पन्न भवन सोमबार उद्धघाटन गरिएको छ । सदरमुकाम चरिकोट स्थित लामाचौरमा निर्मित भवनको उद्धघाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले गरे । जिसस प्रमुख पाण्डेले नागरिकको सूचनाको हकलाई सुनिश्चित र संरक्षण गर्दै सञ्चारकर्मी तथा पत्रकारहरुले समाचार र सूचना सम्प्रेषणमा उल्लेखनिय भूमिका निर्वाह गरेको बताए । उनले भवन निर्माणका लागि सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिदैँ भवनलाई थप पुर्णता र सुविधा सम्पन्न बनाउन सहयोग गर्न समेत अनुरोध गरे । जिसस प्रमुख पाण्डेले पत्रकार महासंघ दोलखाको चैत्र २५ गते हुने जिल्ला अधिवेशनमा पत्रकारिता क्षेत्रलाई व्यवस्थित गराउनका लागि स्वस्थ प्रतिस्पर्धा गर्न पत्रकारहरुलाई अनुरोध गरे । ‘प्रतिस्पर्धामा सामेल भएपछि हारजीत भई हाल्छ, तथापी त्यसलाई स्वभाविक ठान्दै परिणाम स्वीकार गर्नुपर्ने हुन्छ । अब आउने नयाँ नेतृत्वले जिल्लाको पत्रकारिता क्षेत्रलाई थप आयाम दिने मेरो विश्वास रहेको छ ।’ लामाचौर सामुदायिक वनले उपलब्ध गराएको २ सय वर्गमिटर जग्गामा ६० लाख भन्दा बढी लागतमा निर्माण भएको महासंघको १ तल्ले भवनमा कार्यक्रम गर्नका लागि एउटा सभाहल सहित ३ वटा कोठा रहेका छन् । पत्रकारहरुका लागि मिनी पुस्तकालय र जिल्लाको समग्र सूचना प्राप्तिका लागि सूचना केन्द्र समेत स्थापना गरिएको छ । भवन निर्माणका लागि स्थानीय सरकार सहित विभिन्न संघ, संस्थाहरुले वार्षिक उत्सव, साधारणसभा र विभिन्न व्यक्तिहरुले जन्मदिन, शुभविवाह र पुण्यतिथी लगायतको अवसरमा भवन निर्माणका लागि आर्थिक तथा निर्माण सामग्रीको सहयोग गरेका थिए । भवन निर्माणार्थ सहयोग गर्ने संघसंस्था, स्थानीय तह र व्यक्तिहरुलाई सोमबारै सम्मान पत्रसहित सम्मान गरिएको छ । महासंघका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको भवन उद्धघाटन कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंक जिरेल, तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, कालिन्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामी, गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयम बहादुर खड्का, शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल लगायत जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । पत्रकार महासंघ दोलखाले गत वर्षको फागुनबाटै भवनमा प्रवेश गरी आफ्नो कामकाज सुरु गरेको थियो । उक्त भवन २०७४ सालबाट निर्माण सुरु भई २०७६ माघमा निर्माण सम्पन्न भएको हो ।
Be the first to comment on "नेपाल पत्रकार महासंघ दोलखाको भवन उद्धघाटन"