नेपाल कम्युनिष्ट पार्टीको घोषणा

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको छ । एकतापछि नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी प्रस्ताव गरिएको छ । नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दर्ता भएको छ ।
दुवै पार्टीको संयुक्त बैठक बसेर एमाले र माओवादी विघटन भएको घोषणा गरिएको थियो ।

ओली र दाहाल निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएलगत्तै कार्यकर्तालाई संयुक्त रुपमा सम्बोधन गरेका थिए । अध्यक्ष ओलीले सम्बोधनका क्रममा आफूहरु कुनै एक पार्टीमा विलिन भएको नभइ अन्तरघुलित भएको बताएका छन् ।
नकेपाको घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनाव हार्दैमा नअत्तालिन कांग्रेससँग पनि आग्रह गरे ।

“मिसिएको होइन, अन्तरघुलित भएका छौं,” उनले भने, “यो कसैका विरुद्ध होइन । कोही आत्तिनुपर्दैन ।”

उनले हिन्द महासागरमा नदी मिसिएजस्तै अब को कुन पार्टीको भन्ने नहुने प्रतिवद्धता जनाए ।

“अघिसम्म एमाले भन्यौं । माओवादी केन्द्र भन्यौं । अघिसम्म प्रचण्डजी अर्को पार्टीको हुनुहुन्थ्यो । म अर्कै पार्टीको थिएँ । मैले प्रचण्डजीलाई तपाइँको माओवादी केन्द्र सिद्धियो भन्दा उहाँले पनि तपाईँको एमाले पनि सिद्धियो भन्नुभयो । मैले त्यही जवाफका लागि भनेको थिएँ । अब दुवै पार्टी सिद्धियो । एउटाले अर्कोमा विलय गर्न खोजेको हो कि के हो भनेर पनि आशंका थियो । त्यो होइन,” उनले भने ।

उनले वैधानिक हिसावले कांग्रेस  प्रतिपक्ष भएपनि गुण र दोषका आधारमा राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुन आग्रह गरे ।

“अलिकति चुनाव हारेपछि उहाँहरु आत्तिनुहुन्छ,” उनले भने, “राष्ट्र निर्माणको वैधानिक भूमिका खेल्नुस् । जनताले आश्चर्य मान्ने खालका काम गरेर हुँदैन । तानाशाहीका लागि एकता आवश्यकता परेको होइन । देश बनाउने संकल्पका लागि हो । भ्रष्टाचार रोक्नका लागि,  म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।”

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले जनताका अघि गरेको संकल्प पूरा गर्न पार्टी एकता गरेको बताएका छन् । पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “जनताको अघि जुन संकल्प गर्यौं, त्यो पूरा गर्न अहिले एकता गरेका छौं । चुनावमा भएको समीकरणलाई आफ्नैले पनि आशंका गरेका थिए तर हामीले यही मञ्चबाट भनेका थियौं । त्यो पूरा गरेरै छाड्यौं । घुम्ती र मोडमा जनताको अघि उपस्थित भएर भन्यौं । पछि फर्किने पुल भत्काएर आएका छौं भनेका थियौं । खुट्टै काटेर भए पनि जुत्ता मिलाइन्छ भनेर केपी ओलीले भन्नुभएको थियो । जनताको अघि जे प्रतिवद्धता गरेका थियौं । त्यो पूरा गरेका छौं ।”

उनले आफूहरु पञ्चायतका विरुद्ध बीसौं वर्ष लडेको स्मरण गर्दै जनयुद्धमा पनि परिवर्तनका लागि मर्न पाइन भनेर झगडा हुने गरेको स्मरण गरे ।

“म मर्न पाइन भनेर झगडा हुन्थ्यो तर अहिले म सांसद हुन पाउँ र म मन्त्री हुनैपर्यो, प्रधानमन्त्री हुनैपर्यो भन्ने प्रतिष्पर्धा भयो ।” उनले आफ्नो जिवन निरन्तरतामा क्रमभंगमै बित्ने हो कि भन्ने भएको बताए ।

“मेरो जिवन जहिले पनि निरन्तरतामा क्रमभंगमै बित्ने भयो,” उनले भने, “मैले कमजोरी गरेको बेला देश र जनताले दुख पाएको देख्छु । हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यो अब पानीभित्र हाइड्रोजन र अक्सिजन खोजेर पाइँदैन ।”

Shares

Be the first to comment on "नेपाल कम्युनिष्ट पार्टीको घोषणा"

Leave a comment

Your email address will not be published.


*