चरिकोट (दीस) ः प्रहरी निरीक्षकको पोशाक र नक्कली प्रहरी परिचय पत्रको दुरुपयोग गर्दै ठगीमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार पक्राउ परेका व्यक्तिहरू कागेश्वरी मनोहरा नगरपालिका–७ थापाचोकबाट सुदीप थापा र कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक किशोर कुमार चौधरी रहेका छन् ।
सुदीप थापाले प्रहरी निरीक्षकको पोशाक लगाई विभिन्न उच्चपदस्थ व्यक्तिहरूसँग सम्पर्क रहेको प्रलोभन देखाउँदै क्यानडा र अष्ट्रेलियालगायत देशमा वैदेशिक रोजगारीको आश्वासनमा ठगी गर्दै आएका थिए भने चौधरीले यसक्रममा नक्कली प्रहरी परिचय पत्र तयार गर्न मद्दत गरेको विज्ञप्तीमा उल्लेख छ । पक्राउ परेका दुवै जनालाई ठगी र कागजात कीर्तेसम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ (भद्रकाली) पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद
चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले १५ हजार ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएका प्रहरीले सुनौलीबाट काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख ६८१८ नम्बरको बस जाँच गर्ने क्रममा डिकीमा राखी ल्याएको उक्त परिमाणको लागुऔषध फेला पारी आज बरामद गरेको हो । उक्त लागुऔषधबारे अनुसन्धान गर्ने क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने २७ वर्षीय किरण श्रेष्ठको संलग्नता रहेको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको छ । यसैबीच रूपन्देहीको कञ्चन गाउँपालिका–१ रामडाँडामा लु.३ त ४५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–२ मटेरियाका ६० वर्षीय चिन्का चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते हुनुभएका ट्याक्टर चालक समेत गरी दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–११ मेनचोकस्थित सडकमा स.१ त ७८२१ नम्बरको ट्याक्टरले किचेर प्र.१–०५–००१ प ७६८४ नम्बरको स्कुटर चालक रौतामाईं गाउँपालिका–७ मुर्कुची बस्ने ४० वर्षीय बासु खड्काको आज दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका खड्काको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आज प्रकाशित बुलेटिनमा उल्लेख छ । —
Be the first to comment on "नक्कली प्रहरी परिचय पत्र र पोशाकको दुरुपयोग ठगी गर्ने दुई जना पक्राउ"