लक्ष्मण प्रसाद खतिवडा
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभर आर्थिक मन्दि आएको छ । आफूलाई शक्तिशाली र सम्पन्न ठान्ने मुलुकहरुमा समेत कामको अभाव हुन थालेको छ । नेपालका लागि रेमिट्यान्सको प्रमुख स्रोत रहेको खाडि मुलुक, युरोप, अमेरिका, कोरिया, भारत जस्ता देशहरुनै कोरोनाको बढी प्रभावमा परेका छन् । धेरै जसो कम्पनीहरु बन्द भएका छन् । कति बन्द हुने क्रममा छन्। जसबाट वैदेशिक रोजगारीमा गएका लाखौ नेपाली युवाहरुको रोजगारी जोखिममा परेको देखिन्छ । यदि ती मुलुकहरुले रोजगारी कटौती गरेमा हामीलाई थप समस्या हुने निश्चित छ । अर्थतन्त्रको करिब एक चौथाइ हिस्सा धानेको रेमिट्यान्समा आधारित हाम्रो जस्तो मुलुकको अर्थतन्त्रको लागि त रोजगार गन्तव्य मुलुक नै धराशायी बनेपछि हामीलाई नराम्ररी पिरोल्ने नै छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विश्वभर हालसम्म ३ लाखभन्दा बढि व्यक्तिले ज्यान गुमाइसकेका छन् भने करिब ४७ लाख व्यक्ति संक्रमित भएका छन् । यसरी कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण धेरैजसो देशहरुलाई प्रभाव पारेको कारण देशमा रेमिट्यान्स घट्दै गइरहेको छ । नेपालसँग श्रम सम्झौता भएका मुलुकले कामदार फिर्ता लैजान दबाब दिइरहेको तथा नेपाल फर्कन चाहने कामदारहरुको संख्या पनि बढ्दै गएकोले देशमा बेरोजगारीको संख्या अझै बढ्ने आँकलन सहजै गर्न सकिन्छ । यसरी कोरोना भाइरसको कारण वैदेशिक रोजगारी गुम्दा नेपाली अर्थतन्त्रमा पनि चौतर्फि असर पर्दछ । त्यसैले बेरोजगारी युवाहरुलाई व्यवस्थापन गर्न सरकार रोजगारीको अवसर सृजनाको लागि अग्रसर हुनैपर्दछ ।
विश्वव्यापीकरण र खुला अर्थतन्त्र भएको वर्तमान अवस्थामा आयात प्रतिस्थापन गर्न असम्भव भएपनि स्वदेशमा नै उत्पादन बढाएर आवश्यक कृषिजन्य सामग्रीमा आत्मनिर्भर बनाउन जरुरी थियो । यसको साथै नेपालमा संचालित उद्योगधन्दा, कृषि व्यवसाय र उर्जालाई अघि बढाई व्यापक रोजगारी सिर्जना गर्न सकिन्थ्यो । तर त्यसमा बेलैमा ध्यान पुर्याउन नसक्दा अहिले विदेशमा कामको लागि गएका नेपालीहरुले दुःख पाइरहेका छन् । एकातिर उनीहरुलाई महामारीबाट बच्नु त छँदैछ भने अर्कोतर्फ भोकले मर्नु पर्ने अवस्था सृजना हुन थालेको छ । संक्रमण फैलन नदिन गरिएको बन्दको कारण उनीहरुले न त त्यहाँ काम गर्न नै पाएका छन् न त स्वदेश फर्कन नै ।
नेपालका धेरै मानिसहरु रेमिट्यान्सको सहायताले जिविकोपार्जन गरिरहेका छन् भन्न सकिन्छ । रेमिट्यान्सकै कारण स्वास्थ्य, शिक्षा र स्तरीय जीवनयापनमा नेपालीहरुको पहुँच बढेको पक्कै हो । परिवारको स्वास्थ्यको साथै बालबच्चालाई राम्रो विद्यालयमा पढाउन सक्ने भएका छन् । यसकै कारण बुबा-आमा, श्रीमान्-श्रीमति, छोरा-छोरीलाई नयाँ कपडा फेरिदिन सकेको छन् । रेमिट्यान्सले न्यून र न्यून मध्यम आयस्तर भएका परिवारको आय वृद्धि गरी गरीबी निवारण तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पारेको पनि छ । तर यसबाट प्राप्त रकमलाई उत्पादनमुलक काममा लगाउन सकिएको छैन । धेरै जसो रकम उपभोगमै खर्च भैरहेको देखिन्छ ।
नेपाल रेमिट्यान्सको दुष्चक्रमा फसिसकेको छ । जसको कारण देशको औद्योगिक विकास कम मात्रामा भएको छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेपनि विदेशमा नेपालको निर्यात घटेको छ भने आयात दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । किनेरै खाने प्रवृत्ति बढेकाले हिजोसम्म रेमिट्यान्स जताबाट आयो उतै जाँने अवस्था थियो अब अन्त्य गर्दै राष्ट्रिय उत्पादन बढाउने र आत्मनिर्भर बन्ने काममा राज्यले लगानी बढाउनुपर्दछ । हिजो काम गर्न सक्ने युवाहरु विदेश जाँदा नेपालमा खेतियोग्य जमिनको ठूलो हिस्सा बाँझो रहेको थियो आज कोरोनाको कारण स्वदेशमा युवाहरुको संख्या बृद्धि भएकाले स्वदेशी उत्पादनमा जोड दिनुपर्दछ । हिजो रेमिट्यान्समा भर पर्दा राष्ट्रिय उत्पादन बृद्धिमा नकारात्मक असर परी खाद्यान्न तथा अनुत्पादक वस्तुको आयात वृद्धि भई व्यापार असन्तुलन बढ्दै गएको थियो अब यसलाई कम गरी खाद्यान्न लगायतका क्षेत्रमा आत्मनिर्भर हुन जरुरी छ । अन्यथा महामारीबाट जोगिनु भन्दा पनि देशको अर्थतन्त्रलाई जोगाउन मुस्किल पर्दछ ।
अब कोरोनाबाट शिक्षा लिई विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गर्नुपर्ने चेतना वृद्धि हुनुपर्दछ । विदेशमा सिकेको सिपलाई नेपाली भूमिमा पोख्नुपर्छ । जसबाट रोजीरोटीको लागि विदेशमा भौतारिरहनु पर्ने अवस्थाको अन्त्य हुन्छ । युवाहरुले विदेशमा प्राप्त गरेका ज्ञान, सीप र क्षमता पनि हाम्रो नेपाली समाजको सम्पत्ति हुन् । उनीहरुलाई निजहरुको क्षमता अनुसार रोजगार दिन राज्यले सक्नुपर्दछ । यसको साथै हिजो श्रमको सम्मान नहुँदा कृषि पेशाबाट पलायन भएका युवाहरुलाई सम्मानित रुपमा कृषि पेशामा फर्काउनुपर्छ । अब कृषिमा सरकारी लगानी बढाई सबै कृषियोग्य क्षेत्रमा यान्त्रिकीकरण र सिँचाइ सुविधा पुर्याएर सुधार ल्याउन जरुरी छ । जसबाट आन्तरिक रोजगारी सिर्जना गरी रोजगारी दिन सकिन्छ । यसरी कोरोनाको कारण रोजगारी गुमेको युवा समुहलाई राज्यले कृषि कर्ममा लगाउन सके xf हामीलाई आत्मनिर्भर हुने बाटो खुल्छ । अब राष्ट्रिय अर्थतन्त्र धराशायी हुने अवस्था आउन नदिन बेलैमा राज्यले स्वनिर्भरता उन्मुख आर्थिक निति अवलम्बन गर्नुपर्ने देखिन्छ ।
Be the first to comment on "धरापमा रेमिट्यान्सः अर्थतन्त्र जोगाउने कसरी"