दोलखा पशु विज्ञ सेवा केन्द्रमा किसान केन्द्रित बजेट , सात करोड बजेट

इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखा र सिन्धुपाल्चोक कार्यक्षेत्र रहेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले वार्षिक कार्यक्रमहरु सार्वजनिक गरेको छ । चरिकोट बिचबजारमा मुख्य कार्यालय रहेको केन्द्रले सोमबार जिल्ला समन्वय समितिको हलमा एक कार्यक्रमका बीच चालु आव २०७८÷०७९ मा सञ्चालन र कार्यान्वयन हुने योजना तथा कार्यक्रम सार्वजनिक गरेको हो ।केन्द्रका प्रमुख माधव प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर निशान्त शर्माले स्थानीय तहसँगको समन्वयमा कार्यक्रमहरु प्रभावकारी बनाउन गरिनुपर्ने भूमिकाको बारे छलफल गर्न र वर्षभरी सञ्चालन हुने कार्यक्रमहरुको जानकारी दिन सो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले गत वर्ष सम्पन्न कार्यक्रम र त्यसबाट भएको उपलब्धिहरु प्रस्तुत गर्दै चालु आवमा दोलखा र सिन्धुपाल्चोकमा हुने कार्यक्रमबारे प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले कार्यक्रम सञ्चालनपछि पशुपन्छीको स्वास्थ्य संरक्षण र उत्पादन तथा उत्पादकत्वमा बृद्धि हुनुका साथै मुलकलाई आर्थिक समृद्धिमा टेवा पुग्ने सुनाउनुभयो । विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले दोलखामा पशुपालन र किवी खेतीबाट आयआर्जनको प्रचुर सम्भावना रहेकोले यसतर्फ लागि किसानहरु व्यावसायिक बन्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय लहैलहैमा पशुपालन तर्फ लाग्नेको संख्या बढेपनि अपेक्षति प्रगति हुन नसक्दा उनीहरु पलायन हुनुपरेकोले पशुपालन व्यवासाय सुरु गर्न पूर्व आवश्यक ज्ञान र प्राविधिक जानकारीको साथै बजारको माग बारे सुचित भई कार्य गरे सफलता हात पार्न सकिने बताउनुभयो । उहाँले संघियता पछि स्थानीय तहमा पशुपन्छी सेवा शाखा स्थापना गरिएपनि आवश्यक स्रोतसाधन र जनशक्तिको अभावमा किसानले चाहेको बेला सेवा उपलब्ध हुन नसेको बताउनुहुँदै उहाँले भन्नुभयो “पहिलेको पशु सेवा कार्यालय हुँदा खेरी किसानहरुले सेवा पाइरहेका थिए । तर अहिले स्थानीय तहमैँ सेवा पाउने भनिएपनि स्रोतसाधनको अभावमा सबै सेवा सहज तवरबाट दिन सकिएको छैन । मलाई त पहिलेकै पशु सेवा कार्यालय नै उचित लाग्यो ।”उहाँले विगु गाउँपालिकाले स्रोतसाधनको अभावको बीच पनि चुनौतीको समाना गरी पशुपालक किसानको सहयोगमा काम गरेको बताउनुहुँदै पालिकालाई पशुपालनबाटै सम्मुनत बनाउन किसानसगैँ सक्रिय भएको सुनाउनुभयो ।
‘गाडी पुरानो हुँदा समस्या’
कार्यक्रममा केन्द्रका प्रमुख माधव प्रसाद दाहालले कर्मचारी अभाव, साँघुरो भवनका बावजुत किसानहरुको मन जित्न केन्द्र सफल भएको दाबी गर्नुहुदैँ भन्नुभयो केन्द्रमा दरबन्दी अनुसारको पर्याप्त कर्मचारी छैनन् त्यसैगरी पर्याप्त भवन छैन । गाडी पनि पुरानो भएकोले कार्यक्रमहरुको अनुगमन तथा निरीक्षणमा निस्कन असहज भएको छ । यस्ता समस्या सामना गर्दै सेवा दिइरहेका छौँ ।”
उहाँका अनुसार केन्द्रमा १२ जनाको दरबन्दी रहेकोमा आठ जना मात्र कर्मचारी रहेका छन् । चार जनाको पद रिक्त रहेको छ । पाँचौं÷ अधिकृतस्तर छैटौँ (प्रशासन) कर्मचारी एक जना, पाँचौं÷ अधिकृतस्तर छैटौँ (लेखा) एक जना, नायब पशु स्वास्थ्य प्राविधिक दुई जना गरी चार पद रिक्त छ । कर्मचारी व्यवस्थापनको लागि तालुक निकायलाई पत्राचार गरिएको प्रमुख दाहालले बताउनुभयो । कार्यालय भवनको अभाव हटाउन चालु आवमा भवन निर्माणको लागि बजेटको व्यवस्था भएको र आवश्यक प्रत्रिया बढाइएको उहाँले सुनाउनुभयो ।
किसान केन्द्रित बजेट
विज्ञ केन्द्रमा चालु आवको लागि विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनको लागि सात करोड ५३ लाख ७१ हजार रुपैयाँ प्राप्त रहेको छ । जसमा पुँजीगत तर्फ एक करोड ५३ लाख, चालु तर्फ पाँच करोड २२ लाख ९६ हजार, संघीय सर्शत चालुतर्फ ७७ लाख ७५ हजार रुपैयाँ रहेको केन्द्रका डाक्टर शर्माले बताउनुभयो । चालु आवमा पुँजीगत तर्फका कार्यक्रम अन्तर्गत चरिकोटमा कार्यालय भवन निर्माणको लागि एक करोड ५० लाख विनियोजन गरिएको छ । भवन निर्माणको लागि डिपीआर तयारीको प्रक्रिया बढाइएको छ । रेफ्रिजेरेटर खरीदको लागि ५० हजार रुपैयाँ रहेको छ । कम्पाउन्ड माइक्रोस्कोप खरीदको लागि एक लाख ५० हजार र फर्निचर खरीदको लागि एक लाख रुपैयाँ रहेको डाक्टर शर्माले बताउनुभयो । चालु तर्फको कार्यक्रम अन्र्तगत सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा बाख्राको स्रोत केन्द्र विकास कार्यक्रम, मेलम्ची नगरपालिका र बाह्रविसे नगरपालिका वडा नम्बर ४ मा बाख्रा प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने छ । कबुलियती वन तथा पशु विकास कार्यक्रम, पशुपन्छी तथा मत्स्य उपचारमा प्रयोग हुने औषधी खरीद, पशुपन्छी रोग निदानको लागि रेपिड टेष्ट किट खरीद, प्रयोगशालामा प्रयोग हुने सामाग्री खरीद, पशुपन्छी उपचारमा प्रयोग हुने सर्जिकल सामाग्री खरीद, साना किसान लक्षित गाईभैँसी प्रवद्र्धन कार्यक्रम, मझौला किसान लक्षित गाईभैँसी प्रवद्र्धन कार्यक्रम, बाख्रा मिशन कार्यधक्रम, माछा मिसन कार्यक्रम, चौरी प्रवद्र्धन कार्यक्रम, भेडा प्रवद्र्धन, ग्रामीण कुखुरा प्रवद्र्धन लगायतका कार्यक्रम हुने बताइएको छ । यी यस्ता कार्यक्रमहरु अन्तर्गत किसानहरुलाई अनुदानको व्यवस्था गरिएको छ । कृषकलाई विभिन्न विषयहरुमा सीप विकासको लागि केन्द्रले तालिम पनि सञ्चालन गर्ने गरेको छ । यस्ता तालिमले किसानहरुलाई व्यावसायिक हुन मद्धत पुग्ने हुन्छ । केन्द्रले चालु आवमा व्यवासायिक गाईभैँसी तालिम, उन्नत बाख्रापालन तालिम, कुखुरा पालन तालिम, मत्स्य पालन तालिम सञ्चालन हुने जनाएको छ । केन्द्रद्धारा चालु आवमा सञ्चालनमा हुने कार्यक्रमहरु किसान केन्द्रित रहेको छ । यी कार्यक्रम सञ्चालनपछि दोलखा र सिन्धुपाल्चोक जिल्लामा दुध, अण्डा, मासुको उत्पादनमा बृद्धि भई किसानको आर्थिक उत्थान हुने अभीष्ट हो । वार्षिक कार्यक्रमहरु सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई प्रमुख याम कुमार श्रेष्ठ, कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय दोलखाका प्रमुख नन्दराज ओली र नौ वटै स्थानीय तहमा रहेका पशुपन्छी शाखाका प्रमुख तथा भेटेरीनरी प्राविधिकहरुको उपस्थिति थियो ।

Shares