चरिकोट(दीस) ः दोलखा महोत्सवको तयारी तीब्र पारिएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा हुन गइरहेको दोलखा महोत्सवको तयारी तीब्र पारिएको हो ।
सरोकारवाला निकायहरुसँगको छलफललाई तीब्रता दिइएको दोलखा चेम्बर अफ कमर्सले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । शनिवार पत्रकार तथा शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरिएको थियो । यसअघि बैङ्क तथा वित्तिय संस्थाहरु, टोलविकास संस्था, वस्तुगत संघ , यातायात ब्यावसायी, होटल ब्यावसायी, स्थानीयतह लगायत सँग छलफल गरी सकिएको चेम्बर अफ कमर्सले जानकारी दिएको छ ।
शनिवारको पत्रकार सम्मेलनमा यस अघि सात दिन हुने भनिएको महोत्सव फागुन १९ देखि २७ गते सम्म ९ दिन संचालन हुने जानकारी दिइएको छ ।
महोत्सबमा एक सयवटा स्टल राखिने भएको छ । महोत्सवमा जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिने, पञ्चैवाजा संरक्षणकालागि पञ्चैवाजा बजाउने समूह बिच प्रतियोगिताको आयोजना गरिने, खैजडी भजन तथा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुती जस्ता कार्यक्रमको आयोजना गरिने बताइएको छ । यसैगरी महोत्सवमा आर्थिक बहस, नाष्टको सहयोगमा विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा रोबोट प्रदर्शन,कम्प्युटर एसोशियसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइवर सचेताना कार्यक्रम संचालन गरिने अध्यक्ष विष्णुले बताउनु भयो ।
यस्तै महोत्सवमा स्ट्रिटफुड फेस्टिबल, माउन्टेन फ्लाईट मार्फत दोलखाका पर्यटकीय स्थलहरुको अबलोकन तथा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर अभौतिकिकरण शिविर लगायतका कार्यक्रम संचालन गरिने उपाध्यक्ष रुद्रजंग बुढाथोकीले बताउनु भयो ।
महोत्सव संचालनको लागि दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा २५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यसैगरी महोत्सव सफल पार्न प्रचार प्रसार, आर्थिक, मञ्चमेला ब्यवस्थापन तथा मनोरञ्जन ब्यवस्थापन उपसमिति गठन गरिएको छ । महोत्सवका लागि खानेपानी तथा सरसफाई, स्वास्थ्य, यातायात तथा अतिथि सत्कार ब्यवस्थापन उप समिति गठन गरिएको दोलखा चेम्बर अफ कमर्सले जानकारी दिएको छ । जिल्ला समन्वय समिति दोलखाका संयोक बर्जुराम घतानीको संयोजकत्वमा महोत्सव संरक्षक समिति तथा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको संयोजकत्वमा महोत्सव संयोजन समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै बरिष्ठ कलाकार मदनदाश श्रेष्ठको संयोजकत्वमा १०१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको दोलखा चेम्बर अफ कमर्सले बताएको छ ।
Be the first to comment on "दोलखा महोत्सवको तयारी तीब्र"