दीक्षण समाचार
चरिकोट, बैशाख २६
दोलखाको तामाकोशी गाउँपालिका वडा नं. २ झुलेबाट एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला बाहिरबाट आइतबार मोटरसाइकल मार्फत झुले गाउँ छिरेका ‘शंकास्पद’ दश जनाको समूहलाई छ वटा मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । ‘अपरिचित युवाको समूह निर्वाचन बिथोल्न गाउँ आएको भनी’ स्थानीयबाट सूचना प्राप्त भएपछि सोही आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता शुसिल केसीका अनुसार आइतबार पक्राउ परेको समुहले गाउँ छिर्नुको कारण र कसको निर्देशनमा आएको हो भन्ने जवाफ सोमबार पनि दिएको छैन । समूहमाथी अनुसन्धान जारी रहेको छ । सो समुह कुन ठाउँबाट आएको हो, प्रहरीले खुलाएको छैन ।
निर्वाचन आउन चार दिन बाँकी रहँदा जिल्ला बाहिरबाट शंकास्पद समूह आउन थालेपछि निर्वाचनलाई असर पर्ने भन्दै त्रास फैलिएको छ । २०७४ को स्थानीय निर्वाचनमा मतदान स्थल कब्जा गर्ने, गोली चल्ने र ज्यानै जानेसम्मको घटना भएको दोलखामा यो पटक त्यस्तो नहुने स्थानीय प्रशासनले भनिरहेको बेला निर्वाचन पूर्व नै एक शंकास्पद समूह गाउँ छिरेपछि निर्वाचन सुरिक्षत हुनेमा शंका उब्जिएको छ । प्रहरीले भने निर्वाचन सुरक्षित र शान्तिपूर्ण हुने गरी सुरक्षा सतर्कता बढाइएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केसीले निर्वाचनका बेला शंकास्पद व्यक्ति छिर्न निदन सबै तिरको नाकामा कडा निगरानी गरिएको बताउनुभयो ।
Be the first to comment on "दोलखा प्रहरीद्धारा दश जना पक्राउ"