दोलखामा निषेधाज्ञामा पनि हराए मान्छे ?

इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ३०
विश्वभर तीव्र रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले दोलखामा पनि निषेधाज्ञा गर्नुपर्ने बाध्यात्मक स्थिति पैदा गरायो । कोरोना भाइरस न्युनिकरण तथा रोकथामका गर्न बैशाख २३ गतेदेखि ३१ गतेसम्मका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञामा अत्यावश्यक काम बाहेकका लागि मानिसहरुलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । तर यहि निषेधाज्ञा र संकटको बेला मानिस हराएको भन्दै प्रहरीको ढोका ढकढक्याउन हराएका व्यक्तिको परिवार तथा आफन्तहरु पुगेका छन् । कोभिडको संकट त छदैँछ उत्ता आफन्त हराएपछि संकटमाथी संकट थपियो भन्दै जिल्ला प्रहरी कार्यालय दोलखाको महिला तथा बालबालिका सेवा केन्द्रमा मानिस खोजिदिनुप¥यो भन्दै निवेदन दिएका छन् । २३ गतेदेखि बुधबारसम्मको अवधिमा मानिस हराएकोले खोजी उद्धारका निम्ति ६ वटा निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। केन्द्रमा ६ जना मानिस हराएको निवेदन दर्ता भएका छन् । २३ गते १ बालक, २४ गते २ बालिका, २६ गते १ महिला, २८ गते १ बालिका र सोही दिन ६१ वर्षका १ जेष्ठ नागरिक हराएको भन्दै खोजी कार्यका लागि निवेदन दर्ता भएका थिए । अर्थात् ४ बालबालिका, १ महिला र १ जेष्ठ नागरिक हराएका थिए । हराएका मध्ये सबै बालबालिकालाई प्रहरीको सक्रियतामा फेला पारी अभिभावकको जिम्मा लगाइएको छ । ति बालबालिकालाई जिल्ला भित्रबाटै उद्धार गरिएको हो । बाँकी १ महिला र १ जेष्ठ नागरिक भने आज सम्म नि बेपता छन् । यद्यपी उनिहरुको आफन्तले दिएको हुलियाको आधारमा खोजी कार्य जारी राखिएको महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी हवल्दार सबल सापकोटले जानकारी दिए । उनका अनुसार घरमा हुने झगडा तथा मनमुटाव, उचित खानपान तथा स्याहारको अभाव, मायास्नेहको अभाव लगायतका कारण मानिसले घर छाडेर अन्तै जान चाहन्छन् । त्यसैले आपसी मनमुटाव तथा रिसराग त्यागी आफ्ना परिवारका सदस्यहरुको सबैले मानसिक तथा शारीरिक स्वास्थ्यमा ख्याल गनुपर्ने उनि बताउँछन् । महामारीको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थाका व्यक्तिहरुलाई सहयोग तथा मायास्नेतह गरि आत्मबल बढाउन हौसला दिनुपर्छ । साथै उनिहरुको आत्मबल बढाउने क्रियाकलापमा संलग्न गराउने, अत्यावश्यक काम बाहेक अन्य कामका लागि घर बाहिर निस्कन नदिने, पौष्टिक तथा सन्तुलित भोजन पर्याप्त उपलब्ध गराउने, घरभित्रै उपयुक्त हुने खेल खेलाउने, गीतसंगित सुनाउने, सकरात्मक समाचारहरु सम्प्रेषण गर्ने गराउने लगायतका गतिविधि गर्न सकिन्छ ।

Shares

Be the first to comment on "दोलखामा निषेधाज्ञामा पनि हराए मान्छे ?"

Leave a comment

Your email address will not be published.


*