दोलखामा ८५ प्रतिशत धान रोपाइँ

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन १०
दोलखाका अधिकांश किसानहरुले असारमै धान रोपेर सिध्याइसकेका छन् । बिउ, सिँचाइ सुविधा र खेताला भएपछि कतिपय ठाउँका किसानले जेठको दोस्रो साताबाटै धान रोपाइँ सुरु गरेका थिए । विगतका वर्षहरुमा झैँ यो वर्ष पनि मौसमले साथ दिएपछि किसानहरुले आफ्ना उत्पादनशील खेतमा आकाशे पानीको उपयोग गर्दै धान रोपेका हुन् ।
साउनको पहिलो सातासम्म जिल्लामा ८५ प्रतिशत रोपाइँ भएको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जिल्लाको स्थानीय तहबाट धान रोपाइँको अनुमानित विवरण संकलन गरेको हो । सो अनुसार तीन हजार २ हेक्टर क्षेत्रफलमा ८५ प्रतिशत रोपाइँ भएको बताइएको छ । कार्यालय प्रमुख नन्दराज ओलीका अनुसार जिल्लाको भीमेश्वर र जिरी नगरपालिका सहित कालिञ्चोक, बिगु, बैतेश्वर लगायत गरि ९ वटै स्थानीय तहको तल्लो भेगमा धान रोपिएको हो । बढी मात्रामा हाइब्रिड, पोखरेली, खुमल ४, ८ र १० लगायतका जातको धान लगाइएको छ ।
अब जिल्लामा १५ प्रतिशत मात्र धान रोपाइँ हुन बाँकी रहेको छ । कार्यालय प्रमुख ओलीले साउनको मध्यसम्ममा सतप्रशित रोपाइँ हुने बताउनुभयो । ‘बिउ, सिँचाइ पर्याप्त भएको क्षेत्रमा धान रोपाइँ सकिएको छ । खेतमा मकै लगायत अन्य बाली लगाएका किसानहरुले त्यसलाई भित्र्याएर अब धान रोप्ने तयारी गरिरहेका छन् ।’ उहाँले भन्नुभयो ‘अझै धान रोप्नको लागि सिजन रहेकोले मध्य साउनसम्म सत प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।’
अधिकांश क्षेत्रको रोपाइँमा हाते ट्याक्टर लगायतका प्रविधिको प्रयोग भएका छन् । जसले रोपाइँलाई सहज र छिटो सम्पन्न गर्न सहयोग गरेका छ । निरन्तर बर्षा भइरहेकोले रोपिएका धानहरु राम्रोसँग हुर्किएका छन् । तर रासायनिक मल बिनै रोपिएका धानमा अहिले मल हाल्ने बेला भएपनि बजारमा नपाउँदा किसानहरु कम फल्ने चिन्तामै रहेका छन् । किसानहरुलाई मौसमले साथ दिएको छ । तर सरकारले मल उपलब्ध गराउन साथ दिएन । त्यसैले मानो रोपेर मुरी नफल्ने भन्दै किसानहरुले सरकारको आलोचना गरिरहेका छन् ।

Shares

Be the first to comment on "दोलखामा ८५ प्रतिशत धान रोपाइँ"

Leave a comment

Your email address will not be published.


*