इश्वर बिश्वकर्मा
चरिकोट, साउन २९
दोलखामा १ वर्षको अवधीमा २ सय ७ युनिट रगत खपत भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाद्धारा सञ्चालित ब्लड बैंकमा संकलन भएको रगत मध्ये आर्थिक वर्ष २०७६÷०७७ मा २ सय ७ युनिट खपत भएको हो ।
गत वर्ष ब्लड बैँकमा ६ सय ४० युनिट रगत संकलन भएको थियो । संकलित रगतमध्ये सबैभन्दा बढी प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा खपत भएको छ । उक्त स्वास्थ्य केन्द्रमा सुत्केरीका लागि धेरै रगत खपत हुने गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले जनाएको छ ।
अन्य स्वास्थ्य चौकीहरुबाट पनि रगतको माग भइरहन्छ । जिल्लामा सुत्केरी, चोटपटक र रक्तअल्पता भएकाहरुका लागि रगत खपत हुने गरेको छ । संकलित ३ सय २७ युनिट रगत भने भक्तपुर जिल्लामा पठाइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापती गोकर्ण प्रसाद पोखरेलले बताए ।
सशस्त्र प्रहरी, सामुदायिक विकास मञ्च, युवा संघ दोलखा, जिल्ला फुटबल संघ, जिल्ला सहकारी संघ, रक्तदाता समाज लगायतका २५ वटा संघसंस्थाले गत वर्ष रक्तदान कार्यक्रमको आयोजना गरका थिए । ब्लड बैँकमै आएर रक्तदान गरेका व्यक्तीहरुबाट ९० युनिट रगत संकलन भएको थियो । ए पोजेटिभ र ओ पोजेटिभ ग्रुपको रगत बढी संकलन भएको छ । रत्तदान गर्नेमा महिलाको तुलनामा पुरुष धेरै रहेको सभापती पोखरेलले बताए ।
लकडाउनको समयमा पनि धेरै संघसंस्थाले सुरक्षा सर्तकता अपनाएर रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । जसले गर्दा कोही कसैले पनि उक्त समयमा बिरामीहरुले रगतको समस्या भोग्नु परेको थिएन । विश्वव्यापी रुप लिएको कोरोना भाइरसको संक्रमण फैलदो अवस्थामा रहेकोले आउँदा दिनहरुमा रगतको माग बढ्न सक्ने उनले बताए । एउटा स्वस्थ मानिसले ३ महिनाको अन्तरालमा नियमित रक्तदान गर्न सक्दछन् । १८ बर्ष देखि ६० बर्षसम्म उमेरका मानिसले रक्तदान गर्न सक्दछन् । १ स्वस्थ व्यक्तिले १ पटक रक्तदान गरेर ३ जना व्यक्तिहरुको जीवन बचाउन सक्छौं ।
Be the first to comment on "दोलखामा २ सय ७ युनिट रगत खपत"