दोलखामा हिमाली आयोजनाको लगानी खेर जाँदै

दीक्षण संवाददाता
उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन आयोजना (हिमाली) आयोजनाको लगानी दोलखामा खेर जाँदै छ । करोडौं लगानीको प्रतिफल नआउने भए पछि बालुवामा पानी बन्दै गएको छ । हिमाली आयोजनाले लगानी गरेका अधिकांश परियोजनाको लगानीको प्रतिफल अत्यन्त न्यून देखिएपछि आयोजनाको लगानी बालुवामा पानी बन्दै गएको हो ।
सन् २०११ देखि एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको संयुक्त लगानीमा सुरु भएको निकै महत्वाकांक्षी मानिएको हिमालीले गरेको लगानीले दोलखामा कार्यक्रम समाप्तिको संघारसँगै निराशाजनक अवस्थामा पुगेको पाइएको छ ।
आयोजना सुरु भएपछि तीन सय ९७ परियोजना दर्ता भई एक सय ४९ परियोजना स्वीकृत भएकोमा हाल एक सय ४९ मध्ये अधिकांश कागजी रुपमा मात्र सञ्चालन भइरहेका छन् भने पाँच परियोजना बन्द भएको पाइएको छ । पाँच वर्षसम्म सञ्चालित परियोजनाले हालसम्म १६ करोड आठ लाख ९५ हजार रुपैयाँ विभिन्न परियोजनामा लगानी गरिसकेको छ । लगानीअनुसार प्रतिफल नआउँदा समग्र आयोजना नै असफलसिद्ध हुने खतरा बढेर गएको छ । बाख्रापालनसम्बन्धी दुई, भैंसीपालनसम्बन्धी एक, गाईपालनसम्बन्धी एक तथा सिताके च्याउ उत्पादन गर्ने एक परियोजना अनुदान लिएर पनि बन्द भइसकेको पाइएको छ ।
स्वीकृत भएका अन्य परियोजनाहरुमध्ये सम्झौता भएर पनि सातवटाले काम नगरेको तथा दुईवटाले पहिलो किस्ता लिएर पनि काम सुरु नगरेको हिमाली आयोजना स्रोतले जनाएको छ । हिमाली आयोजना जिल्ला समन्वय इकाइ दोलखाका अनुसार कृषि तथा लाइभस्टक तथा वन पैदावारजन्य परियोजनामा गरिएको लगानीमध्ये पशुपालन (लाइभस्टक)सम्बन्धी गरिएको लगानीको स्थिति सबैभन्दा खराब रहेको आयोजनाको ठम्याइ छ । लाइभस्टकको ८६ परियोजनामा गरिएको लगानीमा चौंरीपालनबाहेक करिब एक दर्जन पशुफार्महरु मात्र सफल भएको कार्यालय स्रोत बताउँछ । भैंसीफार्म तथा गाईफार्म भने दुई वर्षदेखि बन्द अवस्था रहेको पाइएको छ ।
सबैभन्दा बढी लगानी भएको बाख्राफार्ममध्ये जिरी चेप्टे बाख्राफार्म तथा सुनाखरी बाख्रा फार्म सुन्द्रावतीको प्रगति मात्र सन्तोषजनक रहेको आयोजनासम्बद्ध स्रोतको दाबी छ । जिरी नगरपालिकामा रहेको गौरीशंकर हिमालयन डेरीफार्मले वार्षिक ५० लाख रुपैयाँबराबरको चिज उत्पादन गरी विदेश समेत निर्यात गरिरहेको छ । अन्य चौँरीपालन फार्म तथा बंगुरपालन फार्ममा गरिएको लगानी पनि सन्तोषजनक नै रहेको जिल्ला पशुसेवा कार्यालयका डा. रामचन्द सापकोटाले बताए । “चरनक्षेत्र भएका बाख्राफार्महरुको प्रगति राम्रै छ तर बाँधेर पाल्ने गरी खोलिएका फार्महरुको प्रगति नदेखिएको हो”, डा. सापकोटा भन्छन् । नगरआसपासमा भैँसीपालन तथा गाईपालन गर्न लगानी गर्नुपर्नेमा नगरक्षेत्रभन्दा टाढा लगानी भएकोले गाई तथा भैँसीपालनमा गरिएको लगानी भने सफल नभएको उनको भनाइ रहेको छ ।
अनुदान लिएर पनि काम नगर्ने फार्महरुलाई कारबाही गरी सरकारी बाँकीसरह असुल गर्न हिमाली आयोजनासमक्ष आफूहरुले लेखिपठाएको सापकोटाले बताए । हिमाली आयोजना जिल्ला समन्वय कार्यालय दोलखाको अनुसार कृषिक्षेत्रमा किबी फल, अलैँची तथा जडीबुटी प्रशोधनमा गरिएको लगानी भने उत्साहजनक नैं छ । किबीखेतीमा गरिएको लगानीले अहिले नै प्रतिफल नदेखिए पनि यसको प्रगति सन्तोषजनक देखिएको अनुगमनमा संलग्न आयोजनाका कर्मचारीहरु बताउँछन् ।
कतिपय परियोजना सञ्चालकहरु त परियोजना सञ्चालन खर्चले अहिले वैदेशिक रोजगारीमा समेत गएको सम्बद्ध स्रोतहरुको दाबी रहेको छ । हिमाली आयोजनाले समुद्री सतहबाट दुई हजार मिटर वा सोभन्दा माथिको स्थानमा सञ्चालन गर्ने स्वीकृत परियोजनाहरुलाई कुल लगानीको ८० प्रतिशतसम्म र दुई हजारभन्दा कम उचाइ रहेको स्थानमा सञ्चालित परियोजनाहरुमा ५० प्रतिशत लगानी गरेको थियो ।

Shares

Be the first to comment on "दोलखामा हिमाली आयोजनाको लगानी खेर जाँदै"

Leave a comment

Your email address will not be published.


*