इश्वर बिश्वकर्मा
चरिकोट, फागुन १७
हिमाली जिल्ला दोलखामा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा रही विद्यालय स्तरीय हात्ती पाइले रोगको नमुना परीक्षण र सर्वेक्षण भईरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले जिल्लाको ९ वटै स्थानीय तहमा छनोट भएका विद्यालयका विद्यार्थीमा फागुन १३ देखि हात्तीपाइले रोगको परीक्षण र सर्वेक्षण गरिहेको हो । ९ वटै पालिकाका गरी ४० वटा विद्यालय छनोट भएका छन् । छनोट भएका विद्यालयका ४ देखि ८ कक्षा सम्मका विद्यार्थीमा हात्तीपाइले रोग भए, नभएबारे परीक्षण तथा सर्वेक्षण कार्य दु्रत गतिमा भइरहेको केन्द्रले जनाएको छ । यसैबिच जिल्लाको १५ वटा विद्यालयमा परीक्षण तथा सर्वेक्षण कार्य सकिएको छ । भीमेश्वर नगरपालिकाको ५ वटा, कालिन्चोक गाउँपालिकाको ५ वटा र विगु गाउँपालिकाको ५ वटा गरी १५ वटा विद्यालयमा उक्त कार्य सकिएको हो ।
फागुन १३ गते भीमेश्वर नगरपालिका, १४ र १५ गते कालिन्चोक गाउँपालिका र १६ गते विगु गाउँपालिकाका विद्यालयहरुमा परीक्षण तथा सर्वेक्षण गरिएको थियो । भीमेश्वर नगरपालिकाको कालिन्चोक मावि, राजकुलेश्वर आधारभूत विद्यालय, राइजिङ स्टार बोर्डिङ स्कुल, गौरीशंकर बोर्डिङ स्कुल र सुर्के माविका विद्यार्थीको रगतको नमुना संकलन गरी रोगको परीक्षण गरिएको थियो । कालिन्चोक गाउँपालिकाको बालोदय मावि, निकोभूमी मावि, लापिलाङ मावि, सित्का मावि र मझुवा प्राविका विद्यार्थीहरुमा परीक्षण गरिएको थियो । त्यस्तै विगु गाउँपालिकाको देउलिङ्गेश्वरी मावि, चित्रे मावि, हिमालय मावि, थम्पु मावि र जन प्राविका विद्यार्थीहरुमा राेगकाे परीक्षण गरिएको थियो । एउटा विद्यालयका १६ जना सम्ममा हात्तीपाइले रोगको परीक्षण गरिएकोमा कुनै पनि विद्यार्थीमा हात्तीपाइले रोग नदेखिएको केन्द्रका ल्याब टेक्निसियन परमेश्वर राउतले बताए । अन्य पालिकाहरुमा भने क्रमश ः नमुना संकलन परीक्षण तथा सर्वेक्षण हुने ल्याब टेक्निसियन राउतले बताए । सोमबार गौरीशंकर गाउँपालिकाका छनोट भएका विद्यालयका विद्यार्थीहरुमा परीक्षण गरिने उनले बताए । उनका अनुसार जिल्लामा हात्ती पाइले रोगको परीक्षण तथा सर्वेक्षणका कार्यका लागि १३ जना जनशक्ति केन्द्रले नै परिचालन गरेको छ । उनिहरुले सम्बन्धित पालिका, शिक्षक तथा अभिभावको समन्वयमा छनौटमा परेका प्रत्येक विद्यालयका विद्यार्थीहरु मध्ये १६ जना सम्ममा परीक्षण गर्ने छन् । विद्यार्थीहरुको हातको औँलाबाट १ थोपा अर्थात् ७५ माइक्रो लिटर रगत नमुनाका लागि संकलन गरिन्छ । नमुना संकलन गरी हात्तीपाइले रोग भए नभएको विद्यालयमै तत्कालै परीक्षण गरिन्छ । परीक्षणको नजिता १५ मिनेटमै थाहा पाउन सकिने जनाइएको छ । परीक्षण तथा सर्वेक्षणका क्रममा ४ सय ८० जनामध्ये ४ जना वा सो भन्दा बढीमा रोग देखापरे सरकारले औषधी सेवन कार्यक्रम लागु गर्ने केन्द्रले जनाएको छ । केन्द्रले हिमाली जिल्लादोलखा सहित ताप्लेजुङ, संखुवासभा, र रसुवारमा नमुना संकलन, परिक्षण तथा सर्वेक्षण कार्य गरिरहेको छ । नेपालमा हात्तीपाइले रोगको बेसलाइन सर्भे सन् २००१ मा सुरु भएको थियो । सन् २००३ मा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सुरु भएको हो । ६३ वटा जिल्लामा कार्यक्रम लागू भएको थियो । रोग देखापरेकालाई ५ वर्षसम्म वर्षमा १ पटक औषधि खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
Be the first to comment on "दोलखामा हात्तीपाइले रोगको परीक्षण र सर्वेक्षण"