दोलखामा सक्रिय अपाङ्ग चौतारी

इश्वर बिश्वकर्मा
चरिकोट, माघ २१
समुदायमा आधारित अपाङ्ग पुर्नस्थापना कार्यक्रम केन्द्र अपाङ्ग चौतारी दोलखाको विषेश साधारणसभा बुधबार सम्पन्न भएको छ ।
विषेश साधारणसभाले पुन ः केदार बहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सीता थामी, वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, सचिवमा गणेशकुमार तमाङ, महासचिवमा नकुल गजमेर, सहसचिवमा शारदा कटुवाल, कोषाध्यक्षमा रामचन्द्र धनुके र सहकोषााध्यक्षमा राधीका श्रेष्ठ रहेका छन् । सदस्यहरुमा बेनु श्रेष्ठ, गणेश बस्नेत र विर्ख बहादुर थापा चयन भएका छन् ।
साधारण सभाको उद्धघाटन गर्दै दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले अपाङ्गता भएको व्यक्तीले सरकारबाट पाउने सेवासुविधा नपाएमा सिधैँ प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेका छन् । साथै उनले अपाङ्गता भएका व्यक्तीको हक अधिकार तथा सेवा सुविधाको शुनिश्चिताको लागि आफ्नो तर्फबाट पहल गरिने बताए ।

अपाङ्ग मैत्री संरचना निर्माण भएनन्
साधारणसभाको उद्धघाटन समारोहमा आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले भुकम्प पश्चात् नयाँ भौतिक संरचना निर्माण गर्न सकिने भएपनि सम्बन्धित निकायले चासो नदिँदा त्यस्तो हुन नसेको बताइन् । जिल्ला अदालतको भवन नै अपाङ्गमैत्री नभएको बताउँदै अध्यक्ष कार्कीले जिल्लामा निर्माण भएका विद्यालय, सरकारी कार्यालय लगायतका भवन नयाँ निर्माण गरिएको भएपनि प्राय ः सबै संरचना अपाङ्गमैत्री नभएको बताइन् । विश्वभर फैलिएको कोरोना महामारीबाट अपाङ्गता भएका व्यक्तीलाई जीवनयापनमा अत्यन्तै कठिन भएकोले त्यस्ता व्यक्तीको जीवनयापनमा सहज हुने वातावरण निर्माण गरिनुपर्ने उनले बताइन् । उनले अपाङ्गता भएका व्यक्तीको आत्मबल वृद्धिका निम्ति क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालनका साथै आवश्यक सीपमुलक तालिम तथा सहायता सामग्रीको व्यवस्थापन गरिनुपर्ने बताइन् । भीमेश्वर नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुर्जा दाहालले पछिल्ला वर्षहरुमा अपाङ्ग चौतारी निष्क्रिय बनेकोले सक्रिय भएर अपाङ्गगता भएका व्यक्तिको क्षेत्रमा काम गर्नुपर्ने बताइन् । स्थानीय सरकारले अपाङ्गगता भएका व्यक्तिलाई लक्षित गरि थोरै भएपनि बजेट विनियोजन गरेका छन् । अपाङ्ग चौतारीले योजना र कार्यक्रम बनाई स्थानीय तहमा प्रस्ताव गर्नुपर्ने बताइन् । साधारण सभामा नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेल, तामाकोसी गाउँपालिका वडा नं. २ झुलेका जेष्ठ नागरिक प्रेम बहादुर कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "दोलखामा सक्रिय अपाङ्ग चौतारी"

Leave a comment

Your email address will not be published.


*