दोलखामा सकियो कृषि गणना

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ १९
दोलखामा सातौँ राष्ट्रिय कृषि गणना बिहीबार सम्पन्न भएको छ। कृषिगणनाको सार, कृषि योजनाको आधार भन्ने मुल नारासहित बैशाख ६ गतेदेखि सुरु भएको कृषिगणना अन्तर्गत तथ्याङ्क संकलन सकिएको हो । जिल्ला कृषिगणना कार्यालय प्रमुख, जिल्ला कृषि गणना अधिकृत कमलराज गिरीले कृषि गणना अन्तर्गत तथ्याङ्क संकलन कार्य सफलता पूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । ‘निर्धारित समयवाधिमै तथ्याङ्क संकलन कार्य सफलतापूर्वक सकिएको छ । तथ्याङ्क संकलनका लागि खटिएका कर्मचारीहरुलाई किसानहरुले तथ्यसत्य विवरण टिपाउनुभएको छ । सत्य र तथ्यको नजिक भएका छौँ ।” उहाँले भन्नुभयो “ अहिले संकलित तथ्याङ्क बुझिलिने कार्य धमाधम चलिरहेको छ । यो क्रम शुक्रबारसम्म चल्ने छ ।” कृषिगणनाको लागि दोलखामा ६९ जना गणक र १८ जना सुपरिवेक्षक निर्धारित क्षेत्रमा खटिएका थिए । नौ वटा पालिका रहेको जिल्लामा १ सय ७० वटा गणना क्षेत्र तोकिएको थियो ।
४५ दिनमा सम्पन्न भएको कृषि गणनामा पारिवारिक, व्यावासायिक तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषिकार्यको विस्तृत तथ्यांक संकलन गरिएको कृषि गणना अधिकृत गिरीले बताउनुभयो । कृषक परिवार सूचिकरण लगत, कृषक परिवार प्रश्नावली र वडास्तरीय सामुदायिक प्रश्नावलीको आधारमा निर्धारित मापदण्डमा रही कृषकले चलन गरेका जग्गा तथा पशुपन्छीपालन, अन्यखेती, वातावरण लगायतका विविध विषयसम्बन्धि विस्तृत विवरण संकलन गरिएको हो । कृषि अवस्थाको जानकारी पाउन र कृषि विकासको लागि योजना तर्जुमा एवं नीति निर्माणको सघाउका लागि कृषिगणना महत्वपूर्ण छ । कृषि गणना अधिकृत गिरीका अनुसार तथ्याङ्क संकलन कार्य सकिएकोले जेठ २० देखि २४ गतेसम्म प्रश्नावलीको पूर्णता चेकजाँच गरिने छ । त्यसपछि २५ गते सुपरिवेक्षक तथा गणकको बिदाई गरिने र जेठ मसान्तमा कृषिगणना कार्यालय बन्द हुने छ । नेपालमा २०१८ सालदेखि कृषि गणना कार्यको सुरुवात भएको हो । प्रत्येक १० वर्षमा एक पटक सञ्चालन गरिने कृषि गणना यो पटक सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "दोलखामा सकियो कृषि गणना"

Leave a comment

Your email address will not be published.


*