दोलखामा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ११
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दोलखाका तीन जना कृषकलाई बिहीबार जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको छ ।
यो कार्यक्रमका लागि २३ जना कृषकको आवेदन परेकोमा प्राविधिक उपसमितिको अनुगमन मूल्याङ्कन प्रतिवेदनको आधारमा तीन जना कृषक उत्कृष्ट कृषक घोषित भई पुरस्कृत हुनुभएको हो ।
भीमेश्वर नगरपालिका–६ स्थित गैरस्वाँरा कृषि फार्मका किवी कृषक श्याम थापा, तामाकोशी गाउँपालिका–१ मा केरा खेती गरिरहनुभएको इन्द्र केसी र शैलुङ गाउँपालिका–७ स्थित बिन्दावासिनी कुखुरा फार्मका कुखुरा पालक कृषक बेल बहादुर बुढाथोकीलाई जनही १५ हजार रुपैयाँ सहित प्रमाण–पत्रले पुरस्कृत गरिएको छ ।
उहाँहरुलाई जिल्ला कृषि विकास समन्वय समिति एवं जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र कृषि विकास समन्वय समितिका सदस्य एवं विज्ञ केन्द्र प्रमुख माधव प्रसाद दाहालले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कृषक श्याम थापाको ३५ रोपनी जग्गामा आठ सय बढी किवीको बिरुवा रहेको छ । इन्द्र केसीले २५ रोपनी भन्दा बढी जग्गामा केरा खेती टिस्यु कल्चर जातको केराका थम्बा रहेका छन्, भने बेल बहादुर बुढाथोकीले १५ हजार लेयर्स कुखुरा पालनव्यावसाय सञ्चालन गरिरहनुभएको छ ।


पुरस्कार वितरण कार्यक्रममा श्याम थापाले कृषकद्धारा उत्पादित कृषि उपजले बजार पाउन सकस भइरहेकोले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ पुरस्कार पाउँदा खुशी नहुने त कुरै हुँदैन । तर यो भन्दा बढी खुसी म लगायत हजारौँ किसानले उत्पादन गरेको कृषि उपजले सहज बजार र सोचेजस्तो मूल्य पाउँदा हुन्छौँ । यसमा स्थानीय सरकार तथा कृषिको क्षेत्रमा काम गर्ने सबै निकायले चाडैँ काम गर्नुपर्छ ।”

विज्ञ केन्द्रका डाक्टर निशान्त शर्माले कृषकको योगदानलाई सम्मान गरी उनीहरु मनोबल उच्च बनाउन विज्ञ केन्द्रको चालु आवमा तीन जना कृषकलाई पुरस्कार वितरण गरी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको बताउनुभयो । जिल्लास्तरीय पुरस्कार वितरण पाउन सफल कृषकहरुले प्रदेशस्तरीय पुरस्कार कार्यक्रममा आवेदन दिन सक्छन् । प्रदेशबाट छनौट भई पुरस्कार जितेमा राष्ट्रपतिद्धारा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्न सकिने छ ।

Shares

Be the first to comment on "दोलखामा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण"

Leave a comment

Your email address will not be published.


*