चरिकोट ः दोलखा जिल्लामा मालपोत कार्यालयबाट मोहीयानी सम्बन्धी मुद्दामा ३३ वटाको फैसला भएको छ ।आर्थिक बर्ष २०६३ ÷०६३मा जिल्लामा कित्ता नापी सम्पन्न भएपछि कायम भएका मोहीसम्बन्धी मुद्दाको १७ बर्षमा ३३ वटा मुद्धाको मात्र फैसला भएको हो ।
आर्थिक वर्ष २०६२–६३ को अवधिदेखि कुल १६३ मोहीसम्बन्धी मालपोत कार्यालय दोलखामा मुद्दा परेको छ । पछिल्लो पटक २०७८ साल पुस ३० गते पछिल्लोपटक एक मुद्दाको निर्णय भएपछि त्यसपछिको अवधिमा पुनः अर्को मुद्दाको फैसला भएको छैन । कार्यालय आएका मुद्दाका पक्षहरू तारेख लिन्छन गर्दछन् ।
। यस्तै तामेलीमा ५० वटा मुद्दा रहेको छ । तामेलीमा रहेको ५० मध्ये २५ वटा मोही बाँडफाँड तथा २५ मोही नामसारीसम्बन्धी रहेका छन् । यसैगरी मोही बाँडफाँडको प्रक्रियामा ३० तथा मोही नामसारी प्रक्रियामा रहेका ४९ मुद्दा रहेको कार्यालयको तथ्यांक रहेको छ ।
मुद्दाहरु समयमैं फस्र्यौट नहुँदा जग्गाधनीभन्दा पनि विशेष गरी मोहीहरू मर्कामा परिरहेका छन् । जिल्लामा भूमिसुधार कार्यालय नहुँदा पनि यस्तो समस्या आएको मुद्दा खेपिरहेकाहरूको गुनासो रहेको छ ।
मोहीले जग्गा भाग लगाउन चाहे पनि जग्गाधनी उपस्थित नभएका कारण समस्या आएको मालपोत कार्यालय दोलखाका मालपोत अधिकृत धनकुमार तामाङले बताउनु भयो । “वास्तविक मर्का मोहीलाई परेको हुन्छ तर जग्गाधनीहरू अनेक बहाना बनाई मुद्दालाई पछाडि धकेल्न खोज्छन् ।” अधिकृत तामाङले भन्नुभयो,“ जग्गाधनीहरुको नियत नै मुद्दा लम्ब्याउने देखिन्छ ।” आगामी दिनमा आफूले जग्गाधनीहरूलाई पत्राचार गरी कार्यालयमा उपस्थित गराई छलफल गरी मुद्दा फछ्यौट गर्न विशेष पहल गर्ने उहाँले बताउनु भयो ।
मोही सम्बन्धी मात्र नभई दोलखामा गुठीको समस्या पनि ठूलो भएकोले भूमिसूधार कार्यालय नै दोलखामा आवश्यक रहेको सरोकारवालाहरूले बताउने गरेका छन् । मुलतः गुठी जग्गा तथा मोहीसम्बन्धी मुद्दा भूमिसुधार कार्यालयले हेर्ने गर्दछ । भूमिसुधार कार्यालय जिल्लामा नभएका कारण दोलखामा मोही तथा गुठीसम्बन्धी मुद्दा मालपोत कार्यालयले नै हेरिरहेको छ ।
Be the first to comment on "दोलखामा मोहियानी सम्बन्धी ३३ वटा मुद्दा फैसला"