दीक्षण समाचार
चरिकोट, जेठ २१
यसपाली त सरकारले समयमै रासायनिक मल उपलब्ध गराउला र ढुक्कसाथ प्रयोग गरौँला । यही आशामा थिए दोलखाका किसान । तर यो बर्ष पनि आशा गरे जस्तो नभएपछि किसानहरु निराश भएका छन्। बजारमा अघिल्लो बर्षको झैं यो बर्ष पनि रासायनिक मलको अभाव भएको छ । खेतीपाती लगाउने बेला बजारमा मल अभाव भएपछि उत्पादन घट्नुका साथै लगानी डुब्ने र भोकमरीको अवस्था आउने आशंकासँगै किसानमा छटपटी बढेको छ । बिउविजन, सिंचाई अभाव, रोग र किराको प्रकोप, मजदुर अभाव लगायतका अनेकौं समस्याहरु बर्षौंदेखि भोगिरहेका किसानहरु अहिले मल अभावमा हैरानी खेप्नुपरेको छ। सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा किसानहरु मारमा परेका हुन् । सरकारको गैरजिम्मेवारीपन र बेवास्ताका कारण आफूहरु समस्यामा परेको उनीहरूको गुनासो छ । ’कृषि प्रधान देश’ भनेर फलाक्ने तर व्याप्त समस्या समाधान गर्न चासो नदिँदा समस्या बढेर गएको किसानहरु बताउँछन्।
गौरीशंकर गाउँपालिका वडा नं. ३ झ्याँकुका नवराज आचार्यले जेठ लागेसँगै मल खोजी गरेको भएपनि अहिले सम्म पाउन नसकिएपछि आफू निराश भएको बताउनुभयो। “अहिले मकै र धानका लागि डियपी र युरिया मलको आवश्यक पर्ने भएकोले यसको माग अत्यधिक छ । तर आपूर्ति नहुँदा समस्या भएको छ ।“ उहाँले भन्नुभयो “ गाउँका किसानहरुले पनि मल खोजिदिन आग्रह गर्छन् । तर बजारमा मल पाउन सकिएको छैन। यस बर्ष पनि मलको अभाव दोहोरिएको छ।“ गत बर्ष धैरै हैरानीपछि मंहगो मूल्यमा मल पाएका किसानहरु यो बर्ष पनि उही समस्या भोग्न बाध्य हँदा चिन्तामा छन् । जिल्ला सदरमुकाम चरिकोटसहित जिरी, मैनापोखरी, सिंगटी लगायतका मुख्य व्यापारिक केन्द्रमा मल उपलब्ध नहुँदा समस्या भएको छ । बाहिरबाट मल उपलब्ध नभएपछि अभाव भएको हो कि व्यापारीले कृतिम अभाव सिर्जना गरेका हुन्, यसको अनुगमन गर्न कुनै निकायले तदारुकता देखाएको छैन । सरकारले जग्गा बाँझो राखे १ लाख रुपैयाँ जरिवाना तिराउने भनेको छ । तर जग्गा के कारणले बाँझो राखियो भन्ने बुझ्न चाहेको छैन् । जग्गा बाँझो हुनुका पछाडि थुप्रै कारण छन् । ती कारण मध्येको एउटा प्रमुख मल नपाउनु हो ।
सुष्माक्षमावतीका बिर्ख बहादुर थामीले मल खोज्दा खोज्दा थकित र आजित भएको बताउँदै भन्नुभयो “रासायनिक मल नहाली प्राङगारिक मलले मात्र अन्नबाली सोचेजस्तो फल्दैन। रासायनिक मल खोज्यो पाइदैन । यस्तो समस्या सरकारकै कारण बर्षेनी भइरहन्छ।“ भीमेश्वर नगरपालिका वडा नं ७ का सुनमाया बस्नेतले यसपाली त मल सहज र सुलभ मूल्यमा पाइन्छ भन्ने आशा गरेको भएपनि त्यस्तो हुन नसक्दा दुख लागेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो“ पोहोर त व्यापारीले मल लुकाएर ल्याएका थिए। त्यही हामीले मंहगोमा किनेका थियौं । मल आउँछ तर व्यापारीले लुकाएर कालोबजारी गरी किसानलाई लुट्छन् ।“ उहाँले नियमनकारी निकायले अनुगमन नगर्दा बजारमा कालोबजारी र कृतिम अभाव भएको हुन सक्ने आशंका गर्नुभयो । किसानहरुले अब मल उपलब्ध नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । जिल्लामा सहकारी र व्यापारीले मल बिक्रीविरण गर्दै आएको भएपनि अहिले अभाव भएकोले वितरण गर्न नसकेको बताएका छन् ।
Be the first to comment on "दोलखामा मल नपाएपछि किसान चिन्तित"