दोलखामा मनाइयो ५८ औँ राष्ट्रिय बाल दिवस

दीक्षण समाचार
चरिकोट, भदौ २९
दोलखामा पनि विभिन्न कार्यक्रम गरी ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुल नाराका साथ बाल दिवस मनाइएको हो । दिवसको अवसरमा भीमेश्वर नगरपालिका र नगर बाल सञ्जालको आयोजनामा सामाजिक सञ्जालको दुरुपयोगले बालबालिकामा परेको असर सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको छ । मोबाइल र सामाजिक सञ्जालको सदुपयोग गरे यसबाट जीवन सहज पनि हुने तर दुरुपयोग गरे जीवन डामाडोल हुन्छ, भन्ने सन्देश सहित नाटक प्रस्तुत गरिएको हो ।
नाटक प्रदर्शन अघि आयोजित कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले बालबालिकाको हकअधिकारको संरक्षण, संवद्र्धन र सुनिश्चितताका लागि नगरपालिकाले बालमैत्री अवधारणालाई अंगीकार गरी विविध कार्यहरु गरिरहेको सुनाउनु भयो । उहाँले नगरपालिकालाई चार वर्ष अघि बालमैत्री घोषणा गरिएको र नगरले बालबालिकाको हकअधिकारका रक्षाका साथै सर्वाङ्गिण विकासका लागि प्रभावकारी ढँगले भूमिका निर्वाह गरिरहेको बताउँदै बालबालिकाको क्षेत्रमा भएका कामहरुलाई तीव्रता पनि दिइरहेको बताउनु भयो ।
प्रमुख मानन्धरले आजको बालबालिका भविष्यको कर्णधार, देश निर्माता र परिवर्तनका संवाह रहेको बताउँदै बालबालिकाको हकअधिकारको रक्षाका लागि अभिभावक, विद्यालय, शिक्षक, समुदाय र पूरै समाज जिम्मेवार रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकार भोजराज खतिवडाले संविधान र कानूनले प्रत्याभूत गरेको सम्पूर्ण हकअधिकारको उपभोग र उपयोग सबै बालबालिकाले गर्न पाउने अवस्थाको सिर्जना गर्न आवश्यक रहेको सुनाउनु भयो । उहाँले तीन तहकै सरकारले उल्लेख्य रुपमा काम गर्न सकेमा बालमैत्री समाज निर्माणमा ढिलाई नहुने सुनाउनु भयो ।
प्रजिअ खतिवडाले बालबाकालिको क्षेत्रमा देखिएका समस्या र बालअधिकार रक्षाका लागि जिल्ला प्रशासन कार्यालय र आफ्नो तर्फबाट जिम्मेवारी अनुसारको सम्पूर्ण काम गर्ने सुनाउनु भयो । प्रजिअ खतिवडाले बाल विवाह, बालश्रम र बाल हिंसा लगायतका बाल अधिकार हनन हुने गतिविधिलाई नियन्त्रण गर्न समन्वय र सहकार्य आवश्यक रहने बताउनु भयो ।
कार्यक्रममा, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, भीमेश्वर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख मंगला मानन्धर, शिक्षा शाखाका अर्जुनबहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
नपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइदैँ आएको हो । महासन्धी अनुमोदन गरेर नेपालले बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको थियो ।

Shares

Be the first to comment on "दोलखामा मनाइयो ५८ औँ राष्ट्रिय बाल दिवस"

Leave a comment

Your email address will not be published.


*