दीक्षण समाचार
चरिकोट, बैशाख २०
मंगलबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । यसै अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा आयोजित डिजिटल अधिकार र अबको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल सहयोगमा चरिकोट मिडिया फाउन्डेसनले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्केले संविधान प्रदत्त अधिकारभन्दा बाहिर गएर स्वतन्त्रताको अधिकार उपयोग गर्न नहुने बतानुभयो । यदि त्यसो भएमा अरुको स्वतन्त्रता अधिकार हुनब सक्ने र हनन गर्ने व्यक्तिलाई कानूनी कारबाही हुन सक्ने भन्दै सचेत गराउनुभयो । एक व्यक्तिले स्वतन्त्रताको हक उपयोग गर्ने क्रममा अरुको समेत हकको सम्मान गर्नु पहिलो कर्तव्य हो । ”अभिव्यक्ति स्वतन्त्रता भनेको अरुको गाली बेइज्जती गर्ने होइन’ उहाँले भन्नुभयो ”अरुको सम्मान र गोपनीयता रक्षा गरी सबैलाई उपभोग गर्न पाउने संविधान प्रदत्त हक नै स्वतन्त्रताको हक हो ।“
पत्रकारिता पेशा व्यवस्थित, मर्यादित र सन्तुलित हुनुपर्ने बताउँदै प्रेस काउन्सिल सोको पक्षमा रहेको उहाँले बताउनुभयो । पत्रकारले सत्य, तथ्य र सन्तुलित समाचार लेख्न डराउन नहुने तर आचारसंहिता विपरीतका सूचना तथा समाचार सामाग्री उत्पादन तथा सञ्चारण गरेकामा प्रेस काउन्सिल आकर्षित हुने र कारबाही गर्ने बताउनुभयो । डिजिटल सामाग्रीको प्रयोगमा समेत सबै नागरिक सचेत हुनुपर्ने र जोखिमबाट बच्नुपर्ने उहाँको जोड थियो । कार्यक्रममा पत्रकार शेरबहादुर भुजेलले डिजिटल अधिकार र अबको पत्रकारिता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो क्रममा उहाँले डिजिटल अधिकारले मानव अधिकारलाई वर्णन गर्ने यस अधिकारले डिजिटल मिडियाको पहुँच, प्रयोग, सिर्जना गर्न र प्रकाशित गर्न भन्ने बुझ्नुपर्ने सुनाउनुभयो । उहाँले डिजिटल दुनियाँमा भरपर्दाे र विश्वासिले डिजिटल प्रविधिको प्रयोग गरे अनेकौँ फाइदा लिन सकिने बताउनुभयो । कार्यक्रमा चरिकोट मिडिया फाउन्डेशनका अध्यक्ष जीवन लामाले प्रेस स्वतन्त्रताको उपयोग गरी पत्रकारितालाई मर्यादित र विश्वानीय हुनुपर्ने बताउनुभयो । ’स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार विश्वभर मे ३ तारिखमा यो दिवस मनाइदैँ आइएको छ ।
Be the first to comment on "दोलखामा मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस"