दीक्षण समाचार
चरिकोट, बैशाख २४
दोलखा सदरमुकाम चरिकोटमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि आयोजित तालिम शनिबार सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय आयोजनामा भएको तालिममा बैशाख ३० मा हुने निर्वाचनमा मतदान केन्द्रमा खटिने तीन सय ८६ जनाको सहभागिता रहेको थियो। उनीहरुलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुद्वारा स्थानीय तहको निर्वाचन प्रक्रिया, मतदान केन्द्रको सुरक्षा लगायतका विषयमा सैद्धान्तिक र व्यवाहारिक ज्ञान प्रदान गरिएको निर्वाचन कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकारी शकुन्तला राईले जानकारी दिनुभयो । तालिम पश्चात उनीहरुलाई नियूक्ति पत्र प्रदान गरिएको र २७ गतेदेखि आवश्यक सामाग्री वितरण गरी निर्धारित मतदान केन्द्रमा खटाइने उहाँले बताउनुभयो। जिल्लामा १ सय ९३ वटा केन्द्र रहेको छ । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत खटिने छन् । निर्वाचनलाई स्वच्छ, मर्यादित, निष्पक्ष तवरले सफलतापूर्वक सम्पन्न गर्न मतदान अधिकृतको जिम्मेवारी प्रमुख रहन्छ । निर्वाचन अधिकारी राइका अनुसार भीमेश्वर नगरपालिकामा ३४, जिरी नगरपालिकामा १७, कालिञ्चोक गाउँपालिकामा २१ मतदान केन्द्र रहेका छन् । गौरीशङकर गाउँपालिकामा २०, तामाकोशी गाउँपालिकामा २०, मेलुङ गाउँपालिकामा १९, बिगु गाउँपालिकामा २१, वैतेश्वर गाउँपालिकामा १९ र शैलुङ गाउँपालिकामा २२ मतदान केन्द्र रहेको छ । जिल्लामा ९४ वटा मतदान स्थल रहेका छन् । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयहरुले तयारी तीव्र पारेका छन्, भने निर्वाचन भाग लिने उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् ।
Be the first to comment on "दोलखामा मतदान अधिकृतलाई तालिम"