दीक्षण समाचार
चरिकोट, साउन ३०
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित ऐतिहासिक, सांस्कृतिक र प्राचिन सहर दोलखामा भैरवकुमारी जात्रा सुरु भएको हो । गाइजात्राको भोलिपल्टदेखि सुरु हुने र पाँच रात सम्म चल्ने सो जात्रा आइतबार राति देखि सुरु भएको हो । कुमारी घरमा पुजा विधि सम्पन्न गरी व्यक्तिलाई भैरव र कुमारीको रुपमा श्रृङ्गारेर निकालिने प्रसिद्ध जात्रा गत वर्षको झैँ यो वर्ष पनि सुरु भएको स्थानीय राजेश श्रेष्ठले जानकारी दिनुभयो । आफ्नो घरपरिवार तथा सन्तानहरुको दिर्घायू एवं सुखशान्तिको लागि महिलाहरु दिभर व्रत बस्ने र दिवंगत व्यक्तिहरुको सम्झना सहित उनीहरुको आत्मशान्तिको कामना गर्दै विभिन्न भेषभुषा र बाजागाजासहित सयौँ दर्शनार्थीको उपस्थितिमा शिवभक्ति समुदायले १४ जनाको समूह बनाएर रातभर नाच्दै सहरका टोलटोल प्रदर्शन गर्ने गर्दछन् । भैरवकुमारीको दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेकोले देशका विभिन्न क्षेत्रबाट आएका दर्शनार्थीको उल्लेख्य भीड लाग्छ । यो दोलखामा मात्र चल्ने प्राचिन जात्रा हो । पूर्व वडाध्यक्ष विराजमान श्रेष्ठले भैरवकुमारीको घर पूनर्निर्माण भएसँगै उक्त घरबाट पहिलो पटक जात्रा सुरु भएको बताउनुभयो । २०७२ को विनाशकारी भूकम्पको कारण क्षति पुगेको कुमारी घर स्थानीयको सक्रियतामा पूरानै शैलीमा निर्माण भएको हो । भैरवकुमारी जात्रा सञ्चालनका लागि टोलटोलमा सडक बत्ति जडान गरिएको छ ।
Be the first to comment on "दोलखामा भैरवकुमारी जात्रा सुरु"