दीक्षण समाचार
चरिकोट, माघ ४
दोलखामा कोभिड १९ विरुद्ध पहिलो र दोस्रो मात्रा लगाएका अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई तेस्रो मात्रा अर्थात् ‘बुस्टर डोज’ दिइने भएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय एवं अनुगमन समितिको सोमबार सम्पन्न बैठकले माघ ५ देखि १५ गते सम्म लक्षित समुहलाई स्वास्थ्यसंस्था मार्फत ‘बुस्टर डोज’ दिइने निर्णय गरेको हो ।
बैठकको निर्णयसहितको एक सूचना जारी गर्दै स्वास्थ्य कार्यालय दोलखाले दोस्रो मात्रा खोप लगाएको ६ महिना पुरा भइसकेका अग्रपङ्क्तिमा खटिने व्यक्तिहरूलाई पहिले जुन प्रकृतिको खोप लगाइएको हो, सोही प्रकृतिको बुस्टर डोज दिइने भनी सूचित गराएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी महिला स्वास्थ्य स्वयंसेविका निर्वाचित जनप्रतिनिधि, सार्वजनिक सेवामा खटिने कर्मचारी बैँक तथा वित्तीय संस्थाका कर्मचारी सञ्चारकर्मी सार्वजनिक सेवाका चालक सहचालक अग्रपङ्क्तिमा खटिने समुहमा पर्दछन् । २०७७ माघ १४ देखि पहिलो मात्रा लगाई असार मसान्त भित्र दोस्रो मात्रा लगाईसकेका अग्रपङ्क्तिमा खटिने सबैलाई खोप दिइने सूचनामा उल्लेख गरिएको छ । सूचना अनुसार माघ ५ र ६ गते भिमेश्वर नगरपालिका, कालिन्चोक गाउँपालिका र तामाकोसी गाउँपालिकामा, ६ र ७ गते जिरी नगरपालिका सैलुङ गाउँपालिकाकामा, ८ र ९ गते मेलुङ गाउँपालिका र बिगु गाउँपालिकामा, १० र ११ गते गौरीशंकर गाउँपालिकामा, १४ र १५ गते बैतेश्वर गाउँपालिकामा बुस्टर डोज दिइने अभियनाकाे तालिका बनाइएको छ । त्यसैगरी चरिकोट अस्पतालमा ५, ६ र ७ गते तीन दिन अभियान सञ्चालन हुने बताइएको छ । खोप लगाउन खोप केन्द्रमा जाँदा दोस्रो मात्रा लगाइसकेको खोप कार्ड अनिवार्य रुपमा लिइ जानु पर्ने हुन्छ । अग्रपङ्तिमा खटिने व्यक्तिहरूलाई लगाइ सकेर अर्को चरणमा ६० माथिका जेष्ठनागरिकलाई बुस्टर मात्रा खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
Be the first to comment on "दोलखामा बुधबारबाट कोरोना विरुद्धको ‘बुस्टर डोज’ खोप अभियान"