दीक्षण समाचार (चरिकोट) –दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ का काजीमान तामाङ आफ्नी श्रीमती सुकुमाया प्यारालाइसिसबाट मुक्त हुने आशामा हुनुहुन्छ । उहाँलाई यस्तो आशा चरिकोट स्थित पशुपति चौलागाईँ स्मृति अस्पतालको फिजियोथेरापी उपचार सेवाबाट मिलेको हो । स्वस्थ र निरोगी अवस्थामा हाँसीखुसी जीवन सञ्चालन भइरहेको बेला पाँच महिना अघि सुकुमाया प्यारालाइसिसको चपेटामा परेपछि काजीमान विक्षिप्त हुनु भएको थियो । अहिले चरिकोट अस्पतालमा निरन्तर फिजियोथेरापी गराउन थालेदेखि सुकुमाया ठिक हुने आशा पलाएको काजीमानले सुनाउनु भयो ।“प्यारालाइसिस भएर सुकुमाया थला परेपछि साह्रै चिन्तित भएका थियौँ । उपचारका लागि विभिन्न अस्पताल पनि लग्यौँ । थुप्रै खर्च गरियो । तर सुकुमाया स्वस्थ भएको देख्ने चाहना पूरा हुन सकेन ।” काजीमानले भन्नु भयो, “चरिकोट अस्पतालमा नियमित फिजियोथेरापी गराउन थालेपछि पहिलेको भन्दा केही सुधार भएको संकेत देखिएको छ ।
डाक्टरले फिजियोथेरापीले ठिक हुन्छ भन्नुभएको छ । सुकुमाया प्यारालाइसिसबाट मुक्त हुने आशा पलाएको छ । फेरी पहिलेको झैँ सँगसँगै हिँड्ने विश्वास जागेको छ ।” सुकुमायाको एक साता देखि फिजियोथेरापी मार्फत उपचार भईरहेको छ ।
ढाडजिउ दुख्ने समस्या निवारणको लागि विगु गाउँपालिकाका वडा नं.७ का रामकृष्ण श्रेष्ठले चरिकोट अस्पतालमा फिजियोथेरापी गराउनु भयो । उहाँले डाक्टरको निगरानी, सुझाव र विधिअनुसारको थेरापी गरेपछि आफ्नो समस्या निको हुनेमा आफू आशावादी रहेको बताउनु भयो । उहाँले भन्नुभयो “यो उपचार पद्धतीले समस्या च्वा्टटै हट्ने सुनेर आएको हुँ । आजको उपचार पछि डाक्टरले फेरि आउनु भन्नु भएको छ ।
” सुकुमाया र रामकृष्ण झैँ समस्या लिएर चरिकोट अस्पतालमा फिजियोथेरापी गर्न आउनेको सख्या बढिरहेको छ । जिल्लामा फिजियोथेरापी प्रतिको नागरिक विश्वास बढ्दै गएको छ । डाक्टर मुकेश कुमार यादवका अनुसार अस्पतालमा दैनिक २० देखि ३५ जना बिरामी फिजियोथेरापीका लागि आउने गरेका छन् । यस्तै जिरी अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनमा रहेको छ । अस्पतालका अनुसार हाल १० देखि २० जना सम्म बिरामी फिजियोथेरापीका लागि आउने गरेका छन् ।
चरिकोट अस्पतालका डाक्टर यादवका अनुसार कुनै साइड इफेक्ट बिनै गर्दन, ढाड, नशा च्यापिएको, मुख बाङ्गिएको, हातखुट्टा झमझाउने, जोर्नी मर्केको, प्यारालाइसिस लगायतका समस्या निदान गरिने भएकोले फिजियोथेरापीप्रति नागरिकको आकर्षण बढेको बताउनु भयो । शारीरिक व्यायाम, विद्युतीय मेसिन र म्यानुअल विधि तथा उपकरण प्रयोग गरी समस्याको निदान गरिने विधि नै फिजियोथेरापी हो ।
अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखा र ह्यान्टिक्याप इन्टरनेशनलको साझेदारीमा सन् २०१८ देखि पशुपति चौलागाईँ स्मृति अस्पताल र जिरी अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनमा रहेको छ । सेवा सञ्चालनको अवधि सकिएसँगै सन् २०२२ को डिसेम्बर महिनापछि अस्पतालहरुबाट उक्त सेवा हट्ने भएको छ । सेवा हटेपछि मानिसहरुले फिजियोथेरापी सेवा नपाएर अपाङ्गता हुने अवस्था आउन सक्ने जानकारहरु बताउँछन् ।
Be the first to comment on "दोलखामा फिजियोथेरापी सेवा लिने विरामी बढ्दै"