ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ६
बिहानै देखिको चर्को घाम । हातमा फाइल समाएका युवायुवतीको लाम । उनीहरुलाई गर्मीको कुनै प्रवाह छैन् । चिन्ता छ त लाम कति खेर सकिएला र आफ्नो पालो आउला अनि फाराम बुझौँला भन्ने छ । जिल्ला प्रहरी कार्यालय दोलखा अन्तर्गत रहेको महिला तथा बालबालिका शाखाको कार्यालय बाहिर आइतबार लाम लागेका सयौँ युवायुवतीहरु म्यादी प्रहरीको आवेदन फाराम बुझाउन उकुसमुकुस अवस्थामा पालो कुरिरहका थिए । त्यही लाममा उभिएर म्यादी प्रहरी बन्ने चाहानासँगै फाइल बोकेर पालो पर्खिरहनुभएको थियो राजीब थामी । आगामी बैशाख ३० गते हुने निर्वाचनमा सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयले भर्ना खुलाएपछि म्यादी प्रहरी बन्नको लागि उहाँ चरीकोट आउनुभएको हो । “ चुनाव आएकोले म्यादी प्रहरीको भर्ना खुलेको थाहा पाइयो । हामी फुर्सदिला मान्छे । म्यादी प्रहरीमा जागिर मिल्छ की भनेर भर्ना आवेदन दिन आएको हुँ ।” फाइललाई अर्को हातले समाउँदै थामीले भन्नुभयो “फारामा लेख्नुपर्ने सबै लेखेर पालो कुरेर बसिरहेको छु । पालो आउने बितिकै बुझाउँछु । परीक्षाको क्रममा पक्कै पनि उत्तीर्ण भएर म्यादी प्रहरी बनी निर्वाचनमा सुरक्षामा खटिने छु ।” उहाँ भन्दा केही अगाडी उभिनुभएका विनोद खत्रीले म्यादी प्रहरी बनेर निर्वाचनलाई सभ्य र सुरक्षित तवरले सम्पन्न गर्नको लागि सहयोग गर्ने चाहनाले भर्ना हुन चाहेको सुनाउनुभयो । उहाँले भन्नुभयो “हामी म्यादी प्रहरीमा छनौट भएमा प्रहरीसँगै चुनावी सुरक्षामा खटिने छौँ । राज्यले म्यादी प्रहरीलाई तोकेको तलब र सुविधा दिन्छ ।” म्यादी बन्ने चाहनमा उहाँहरु जस्तै सयौँ युवायुवतीहरुले आवेदन दिने भएका छन् ।
आगामी वर्षको बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षामा खटिने गरी म्यादी प्रहरी भर्ना पक्रिया सुरु भएको हो । म्यादी प्रहरी बन्न इच्छुक योग्यता पुगेकाहरुले ६ गतेदेखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन प्रहरीले सूचना जारी गरी आह्वान गरेको छ । सोही सूचनाको आधारमा जिल्लामा प्रहरी कार्यालयमा म्यादी बन्न चाहनेहरुको बिहानैदेखि लाम लागेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । उहाँका अनुसार दोलखामा ७ सय ९५ जना म्यादी प्रहरीका लागि भर्ना खुलेको हो । म्यादी प्रहरी बन्न प्रहरीको जवान सरहको मापदण्ड निर्धारण गरिएको छ । म्यादी बन्न लागि १८ वर्ष पूरा भएका र ५४ वर्ष नघाघेको नागरिक, स्वयम जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सक्ने छन् । म्यादीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट निवृत्तिभरण प्राप्त व्यक्तिहरु, पूर्व वन रक्षक, विगतका चुनावमा म्यादी प्रहरीमा भत्र्ती भएकाहरुले भर्ना हुन पाउने छन् । आवेदन दिएकाहरुलाई परीक्षण पश्चात उत्तीर्ण भएकाहरुले प्रशिक्षण पाएर ४० दिन म्यादी प्रहरीको रुपमा काम गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
Be the first to comment on "दोलखामा प्रहरी कार्यालय अघि युवाहरुको ‘लाईन’"