दोलखामा प्रभावकारी बन्दै विद्यालय एक नर्स कार्यक्रम

सांकेतिक तस्बिर

ईश्वर बिश्वकर्मा/ चरिकोट, –एक विद्यालय एक नर्स कार्यक्रम लागू भएका दोलखाका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको स्वास्थ्य सुरक्षामा निकै फाइदा पुगेको छ । बागमती प्रदेश सरकारले सञ्चालन गरेको यो कार्यक्रम हालसम्म जिल्लाको २७ वटा सामुदायिक विद्यालयमा लागू भएको छ । ती विद्यालयमा यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । बौद्ध भुवनेश्वरी मावि जिरीका प्रधानाध्यापक बावा शेर्पाले विद्यालयमा विद्यार्थीको स्वास्थ्य सुरक्षा तथा उपचारमा नर्स खटिएपछि निकै फाइदा भएको बताउनुभयो । उहाँले भन्नुभयो “विद्यालयमैँ विद्यार्थीहरुले स्वस्थ जिउने कलासहित सामान्य किसिमको उपचार सेवा पाएका छन् । एक विद्यालय एक नर्स कार्यक्रम हाम्रो विद्यालयमा प्रभावकारी बनेको छ ।” विद्यार्थीलाई स्वास्थ्य तथा शारीरिक समस्याको समाधान र उपचार विद्यालयमैँ हुन थालेपछि विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति हुने क्रम बढेको छ । उहाँले भन्नुभयो “विद्यार्थीहरुले स्वास्थ्य समस्या भएको बेला शिक्षकहरुलाई भन्न मान्दैन थिए । तर अहिले नर्सलाई भने सहजै भन्छन् । नर्सबाट तत्कालै उपचार तथा परामर्श सेवा पाउने भएपछि सामान्य उपचारका लागि पनि अस्पताल जानुपर्ने बाध्यता हटेको छ ।”

भीमेश्वर नगरपालिकाको पशुपति कन्या मावि, सुर्के मावि र क्षमावती माविमा एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको छ । जिरी नगरपालिकाको जिरी मावि, बौद्ध भूवनेश्वरी मावि, कालिका मावि, गौरीशंकर गाउँपालिकाको हलेश्वर मावि, मानेडाँडा मावि र निलकन्ठेश्वर मावि, कालिञ्चोक गाउँपालिकाको लापिलाङ मावि, बालद्धोय मावि र निको भूमे माविमा यो कार्यक्रम लागू भएको छ । त्यसैगरी बैतेश्वर गाउँपालिकाको हनुमन्तेश्वर मावि, क्षत्रावती मावि र कालिढुँगा माविमा, तामाकोशी गाउँपालिकाको नारायणी मावि, सितापाइला मावि र गोल्मेश्वर माविमा यो कार्यक्रम सञ्चालनमा छ । त्यसैगरी विगु गाउँपालिकाको गौरीशंकर मावि, चित्रे मावि र हिमालय माविमा शैलुङ गाउँपालिकाको विरेन्द्र मावि, साँगुते मावि र शारदा मावि र मेलुङ गाउँपालिकाको सत्यश्वर मावि, त्रिभुवन मावि र डाँडाखर्क माविमा एक विद्यालय एक नर्स कार्यक्रम जारी छ ।

नर्सले विद्यार्थीलाई सरसफाई, खानपान, शारीरिक शिक्षा, व्यायाम तथा योगको बिषयमा जानकारी दिदै स्वस्थ हुने उपायहरु अबलम्बनको लागि विद्यार्थीहरुलाई उत्प्रेरणा दिने गरेका छन् । शिक्षकको अनुपस्थितिमा स्वास्थ्य सम्बन्धी कक्षा प्रदान गरिने भएकोले विद्यार्थीहरुमा स्वास्थ्यसम्बन्धी थप शिक्षा प्राप्त भएको छ । विद्यालयमा नर्सले प्रत्येक दिन बालबालिबाको अवस्थाबारे जाँचबुझ, स्वास्थ्य रहन गरिने कार्यबारे जानकारी दिने, व्यवहारिक प्रयोगबारे सिकाउने, विद्यालयमा जंकफुड प्रयोग निषेध गर्ने घर तथा विद्यालयमा कसरी स्वस्थ्य खानेकुरा बनाइन्छ भन्नेबारे जानकारी गराउने गरेका छन् । महिलाको प्रजनन् अवस्था र समयअनुसार शारीरिक अवस्थामा आउने परिवर्तनबारे समेत नर्सले विद्यालयमा सहजीकरण गरेका छन् । नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे दैनिक जानकारी लिने र उनीहरुलाई आफूसँगै घरपरिवारलाई स्वास्थ्य रहने तरिका सिकाएका छन् । प्राथमिक उपचारले ठीक नभएपछि नर्सले बिरामी विद्यार्थीलाई अस्पताल पठाउने गरेको विद्यालयहरुले जनाएको छ। विद्यालयमा आवश्यक औषधिउपकरण तथा अन्य स्वास्थ्य सामाग्री प्रदेश सरकारले उपलब्ध गराउँछ ।

कोरोना महामारीको बेला विद्यालय बन्द हुँदा विद्यालयमा कार्यरत नर्सहरु स्वास्थ्य संस्थामा खटिएका थिए । अहिले विद्यालयमा सञ्चालन भएपछि उनीहरु पुनः विद्यालयमैँ फर्किएका छन् । एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी भएपछि चालु आवमा पनि बागमति प्रदेश सरकारले सामुदायिक विद्यालय छनौट गरी यो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

Shares

Be the first to comment on "दोलखामा प्रभावकारी बन्दै विद्यालय एक नर्स कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*