ईश्वर विश्वकर्मा
चरिकोट, मंसिर १३
दोलखाको बैतेश्वर र तामाकोसी गाउँपालिकाको १० वटा मतदान केन्द्रमा पुनः निर्वाचनको लागि तयारी तीव्र पारिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा स्वच्छ र स्वतन्त्र मतदान नभएको मतदान केन्द्रमा पुनः निर्वाचनका लागि तयारी तीव्र पारिएको हो । एमालेले दिएको उजुरीको आधारमा निर्वाचन आयोगले स्थलगत छानबिनपछि यसअघि स्वच्छ मतदान नभएको मतदान केन्द्रको मतदान रद्द गरी पुनः निर्वाचन गराउन निर्देशन दिएको थियो । सोही निर्देशनको पालना गरी पुनः निर्वाचनका लागि जिल्ला निर्वाचन र मुख्य निर्वाचन कार्यालयले तयारी तीव्र पारिएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा १० मतदान केन्द्रमा पुनः निर्वाचन गर्ने लक्ष्यसहित तयारी थालिएको बताउनु भयो । उहाँले निर्वाचन सोचेअनुरूप सफलतापूर्वक सम्पन्न गर्न व्यवस्थापन तथा सञ्चालन सम्बन्धी सम्पूर्ण तयारी निर्वाचनको अघिल्लो दिन अर्थात् बुधबार पूरा हुने बताउनु भयो ।
बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्र पुनः निर्वाचनको तयारी भइरहेको हो । यस्तै तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा पुनःः निर्वाचन गर्ने तयारी गरिएको हो ।
निर्वाचन आयोगले पुनः निर्वाचनका लागि प्रत्यक्षतर्फ ११÷११ हजार र समानुपातिकतर्फ ११÷११ हजार गरी कुल ४४ हजार मतपत्र सोमबार पठाइसकेको छ । प्राप्त मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो । मतदान सोमबारै छनोट गरिएका केन्द्रमा खटिने कर्मचारीहरूलाई मङ्गलबारदेखि दुई दिने प्रशिक्षण सुरु गरिएको छ । एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी सहित आठ जना कर्मचारी बुधबार खटिने छन् । १० वटा मतदान केन्द्रमा ८० जना कर्मचारी खटाइन लागिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले सुनाउनु भयो ।
सुरक्षा तयारी
१० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएपछि जिल्ला सुरक्षा समितिको तर्फबाट तयारी थालिएको छ । समितिको संयोजक, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सुरक्षा व्यवस्था अत्यन्तै मजबुत बनाइएको बताउँदै निर्वाचन अघि, निर्वाचनको बेला र निर्वाचन सम्पन्न भएपछिको समयलाई विवाद र झडप रहीत बनाउने लक्ष्य अनुसारको तयारी भइरहेको बताउनु भयो । उहाँले मतदान केन्द्रमा आपराधिक र अवाञ्छित क्रियाकलाप दोहोरिन नदिन कुनै कसर बाँकी नराखिने सुनाउनु भयो । मतदान गर्न आएका सम्पूर्ण मतदाता, कर्मचारी, मतपत्र, मतपेटिकाको सुरक्षाका लागि सबै मतदान केन्द्रमा ६ सय भन्दा बढी सुरक्षाकर्मीको व्यवस्था गरिने उहाँले सुनाउनु भयो । एउटा मतदान केन्द्रमा ४० देखि ५० जना सम्म सुरक्षाकर्मी परिचालन हुने छन्, भने मोबाइल गस्ती, रिजर्भ टोली र स्ट्राकिङ फोर्स खटिने छन् ।
निर्वाचनमा बाधा अवरोध गर्ने तथा निर्वाचनलाई शान्तिपूर्ण हुन नदिने दलका प्रतिनिधि, उम्मेदवार, मतदान प्रतिनिधि वा त्यस्तो कार्य गर्ने जुनसुकै व्यक्तिलाई तत्काल पक्राउ गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनु भयो । बिहीबार पुनः मतदान हुन लागेको मतदान केन्द्रमा मंसिर ४ गतेको पहिलो निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन समर्थकले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेका प्रतिनिधिसभाका सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीले निर्वाचन आयोगमा पुनः मतदानको माग गर्दै उजुरी दिनु भएको थियो । उहाँको उजुरीको छानविनपछि निर्वाचन आयोगले मतदान रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय गरेको हो । सो निर्णय प्रति गठबन्धन दलले असन्तुष्टि जनाएको भएपनि अहिले भने निर्वाचनको तयारी थालेको छ । यता पुनः मतदानको माग गर्ने एमालेले पनि माग पूरा हुने भएपछि निर्वाचनको तयारीमा जुटेको छ । पुनः मतदान स्वच्छ, निष्पक्ष र धाँधलीरहीत बनाउन सबै दलले प्रतिबद्धता जनाएका छन् । जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी ५३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै उम्मेदवाहरुले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक, पुल लगायतका विषयवस्तुलाई चुनावी एजेण्डा बनाएका छन् ।
Be the first to comment on "दोलखामा पुनः निर्वाचनको तयारी तीव्र, सुरक्षा व्यवस्था मजबुत बनाइँदै"