दोलखामा पीसीआर ल्याबमा आउन छोड्यो नमुना स्वाब

दीक्षण समाचार , चरिकोट, – दोलखामा कोरोना संक्रमणको दोस्रो लहरमा एन्टिजेनसँगै पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । तर अहिले कोरोनाको तेस्रो लहर फैलिरहँदा चरिकोट अस्पताल स्थित पीसीआर प्रयोगशालामा कोरोना परीक्षण हुन सकेको छैन । स्थानीय तहले छिटो र सहजै नतिजा दिने एन्टिजेन प्रविधिलाई व्यापक जोड दिदाँ चरिकोट अस्पतालको पीसीआर प्रयोगशालामा परीक्षणको कार्य ठप्प भएको हो । जिल्लामा पीसीआरमार्फत कोरोना जाँच गर्न चरिकोट अस्पतालमा प्रयोगशाला रहेको छ । पीसीआर जाँचका लागि संकलित नमूना स्वाब अन्यत्र पठाउने झन्झटबाट मुक्तिका लागि गत बैशाखमा प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । दोस्रो लहरको कोरोना कालमा एन्टिजेन प्रविधिमार्फत परीक्षण गर्नुका साथै आवश्यक परेको बेला पिसीआर परीक्षणको लागि स्थानीय तहले शंकास्पद नागरिकको नमुना स्वाब संकलन गरी पीसीआर प्रयोगशालामा ल्याउँथे । तर अहिले तेस्रो लहर सुरु भएको तीन साता बढी हुन लाग्दा पनि स्थानीय तहले पिसीआर परीक्षण गर्नका लागि नमूना स्वाब पठाएका छैनन् । परीक्षणको विधि फरक भएपनि नतिजामा कुनै फरक नहुने भएकोले एन्टिजेन परीक्षणलाई पालिकाहरुले प्राथमिकता दिएका छन् । सोही कारण पनि पिसीआर परीक्षणका लागि चरिकोट अस्पतालमा स्थानीय तहले नमुना स्वाब नपठाएको चरिकोट अस्पतालका सूचना अधिकारी शान्ति प्रसाद न्यौपानेले बताउनुभयो । एन्टिजेन परीक्षणका लागि कीटको आवश्यकता पर्दछ । उक्त कीट पालिकाहरुमा पर्याप्त मात्रा रहेकोले पनि एन्टिजेनमा जोड दिइएको हुन सक्ने उहाँले सुनाउनुभयो । उहाँका अनुसार चरिकोट अस्पतालमा पछिल्लो दिनमा तीन वटा मात्र नमूना स्वाब प्राप्त भएको छ । सोको परीक्षण तत्कालै गरिने र नतिजा दिइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, प्रयोगशालामा एक जना बिएमएलटी नियुक्त गरिएको छ । अब एक दुई दिन भित्रै पिसीआर परीक्षण सुचारु हुन्छ ।“ यसअघि चरिकोट अस्पतालमा आएका शंकास्पद व्यक्तिहरुको नमूना स्वाबको पिसीआर प्रयोगशालामा परीक्षण गरिएको थियो । तर अहिले तेस्रो लहरको बेला शंकास्पद व्यक्तिको पनि नमूना स्वाबको पिसीआर परीक्षण गरिएको छैन ।

Shares

Be the first to comment on "दोलखामा पीसीआर ल्याबमा आउन छोड्यो नमुना स्वाब"

Leave a comment

Your email address will not be published.


*