ईश्वर बिश्वकर्मा÷कविराज थामी
चरिकोट, फागुन २१
पशुमा कृत्रिम गर्भाधान प्रति दोलखाका किसानहरुको आकर्षण बढे पनि दक्ष प्राबिधिकसहित प्रबिधीको कमीले मंहगो हुने गरेको छ ।
पशुपालक कृषकको रोजाइमा कृत्रिम गर्भाधान पर्न थाले पनि जिल्लामा पशु प्राविधिकसहित प्रबिधिको कमीले कृत्रिम गर्भधान मंहगो भएको हो ।
लिक्वीड नाइट्रोजन, मिथेन लगायतका सामग्री पोखरा, काठमाडौं र अन्य जिल्लाबाट ल्याएर कृतिम गर्भधान गराउँदा मंहगो पर्ने गरेकोे पशु प्राविधिकहरुले जनाएका छन् ।
गाउँगाउँमा प्राविधिकको पहँुच तथा गर्भधानका लागि सिमेन लगायतका साम्रगी सहज उपलब्ध हुन नसकेकाले पशुमा कृतिम गर्भाधान सेवा प्रभावकारी बन्न सकेको छैन ।
प्रविधि र प्राविधिकको कमीका कारण किसानहरुले बढि शुल्कमा कृत्रिम गर्भाधान गर्न बाध्य भएका छन् । पशुजन्य उत्पादनमा बृद्धि भई पर्याप्त आम्दानी हुने भएकाले पशुमा कृत्रिम गर्भाधान आकर्षण बढे पनि महंगो शुल्क तिर्नुपर्दा किसानहरु दिक्दार भएको सरोकारवालाहरुले बताएका छन् ।
चालु वर्ष भीमेश्वर नगरपालिकामा २ सय ४५ वटा भैंसी र बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । बैतेश्वर गाउँपालिकामा २ सय ८१ वटा पशुमा कृत्रिम गर्भाधान गरिएको छ । विगु गाउँपालिकामा ३५ वटा, तामाकोशीमा ६५ वटा, कालिञ्चोक गाउँपालिकामा १२ वटा पशुमा कृतिम गर्भाधान गरिएको पालिकाले जनाएको छ ।
प्राविधिक र पशुपालक किसानहरुको बाटोको दुरी जति टाढा रहन्छ, सोही अनुसारको गर्भाधान बापतको शुल्क लिइने गरिएको स्थानीय तहले जनाएको छ ।
पशुको प्रजनन् प्रणाली सुधारलाई उन्नत जातका पशुपालनका लागि प्रोत्साहन गर्न स्थानीय तहले पशुमा कृत्रिम गर्भाधान प्राथमिकतामा राखेको भए पनि दक्ष प्राविधिक र सामग्री व्यवस्थापन गर्न सकेका छैनन् । अनुभव नभएका प्राविधिकहरुले गाई, भँैसी, बाख्रा लगायतका पोथी पशुहरुमा कृत्रिम गर्भाधान गर्दा पशु ब्याउने सम्भावना रहदैन् । जिल्लाको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका पशु चिकित्सक निशान्त शर्माका अनुसार केन्द्रबाट ३ सय ६६ वटा पशुमा कृत्रिम गर्भाधान गरिएको छ । जसमा गाई १ सय ८२, १ सय २९ भैँसीर ५२ वटा बाख्रामा कृत्रिम गर्भाधान गरिएको पशु चिकित्सक शर्माले बताए ।
उनले पशुमा कृत्रिम गर्भाधानका लागि सामग्रीको सहज उपलब्धता र दक्ष प्राविधिक जनशक्ति बृद्धि गरेमा कृत्रिम गर्भाधान सस्तो भई सबै पशुपालक किसानलाई फाइदा पुग्ने बताए ।
Be the first to comment on "दोलखामा पशु कृत्रिम गर्भाधान मंहगो"