दीक्षण समाचार
चरिकोट, मंसिर १६
दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई खर्च विवरण पेश गर्न अनुरोध गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र तोकिएको ढाँचामा बिल भर्पाईसहित निर्वाचन खर्च विवरण बुझाउन उम्मेदवारहरुलाई अनुरोध गरेको हो ।
कार्यालय पमुख, जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई निर्वाचन भएको खर्चको यथार्थ र सम्पूर्ण बुझाउनुपर्ने बताउनु भयो । उहाँका अनुसार निर्वाचनको बेला उम्मेदवारहरूले सवारीसाधन, इन्धन, प्रचारप्रसार सामाग्री, गोष्ठी, कार्यकर्ता परिचालन लगायतका शीर्षकमा भएका सम्पूर्ण खर्च विवरण आयोगको ऐन अनुसार तोकिएको समयसीमा भित्र पेश गर्नु पर्ने छ ।
उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत उल्लेख गरी पेश गर्नु पर्ने उहाँले सुनाउनु भयो । निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण भने निर्वाचन सम्पन्न भएको १५ दिन भित्र पेश गर्न उहाँले आग्रह गर्नु भयो । जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर खर्च वितरण पेश गर्न आग्रह गर्दै प्रमुख राईले आग्रहको वेवास्ता गरी खर्च विवरण पेश नगरे त्यस्ता उम्मेदवारलाई ऐन अनुसार कारबाहीको दायरामा ल्याइने सुनाउनु भयो । जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी ५३ जनाले निर्वाचनमा उम्मेदवारी दिएका थिए ।
Be the first to comment on "दोलखामा निर्वाचन खर्च विवरण बुझाउन आग्रह"