दोलखामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने विरुद्ध परे नौ उजुरी

ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ३०
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा निर्वाचन आचारसंहिता उल्लंघनका नौ वटा उजुरी परेका छन् । मंगलवारसम्म आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएको भन्दै राजनीतिक दल, उम्मेदवार, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक र कर्मचारी विरुद्ध नौ वटा उजुरी परेका हुन् ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना नगर्ने विरुद्ध लिखित तथा मौखिक उजुरी परेको जिल्ला आचारसंहिता अनुगमन समितिले जनाएको छ । समितिका संयोजक मुरारी निरौलाले आचारसंहिता विपरीत गतिविधि गर्ने विरुद्ध उजुरी परेपछि उजुरीउपर छानबिन गरी चार जनालाई स्पष्टिकरण सोधिएको र २० जनालाई सचेत गराइएको बताउनु भयो ।
“आचारसंहिता उल्लंघन गरेको भन्दै २४ जना विरुद्ध परेको नौ वटा उजुरी उपर छानबिन गरी कारबाही स्वरुप सचेत पार्ने र स्पष्टिकरण सोधिएको छ ।” संयोजक निरौलाले भन्नुभयो, “एक पटक कारबाहीमा परेकाहरुबाट आचारसंहिता उल्लंघनका घटना दोहोरिएको पाइएको छैन । त्यस्तो पाइए कडा कारबाही हुन्छ ।”
सार्वजनिक स्थलमा प्रचार सामाग्री राखेको, सहभागी हुन नमिल्ने व्यक्ति दलको प्रचारमा सहभागी भएको, मापदण्ड भन्दा फरक शैलीले प्रचारप्रसार गरेको लगायतका व्याहोरा र प्रमाणसहित उजुरी परेपछि सोही आधारमा छानबिन गर्दा उजुरीको व्यहोरा अनुसार नै पाइएपछि आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरिएको संजयोजक निरौलाले बताउनु भयो ।
जिल्लामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आचारसंहिताको घटना बढ्न सक्ने भएकोले अनुगमन समिति चनाखो र थप सक्रिय भएको उहाँले बताउनु भयो ।
आचारसंहिता उल्लघंन गर्नेलाई हदै सम्मको कारबाही हुने भएकोले सम्बद्ध सबैलाई सचेत हुन उहाँले आग्रह गर्नु भयो । उहाँले निर्वाचन आचारसंहिताको उल्लंघन भएको पाइएमा उल्लंघनकर्ता विरुद्ध जो कोहीले पनि मुख्य निर्वाचन कार्यालयमा उजुरी दिन सकिने बताउनु भयो । मौन अवधि सुरु हुने दिन नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरुले प्रचारप्रसार कार्यक्रमलाई आक्रामक बनाउने र यस्तो बेला आचारसंहिता उल्लंघन हुन सक्ने प्रति अनुगमन समिति सचेत रहेको संयोजक निरौलाको भनाई छ ।

Shares

Be the first to comment on "दोलखामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने विरुद्ध परे नौ उजुरी"

Leave a comment

Your email address will not be published.


*