दीक्षण समाचार
चरिकोट, माघ १७
दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी शेखर पौडेल मंगलबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनु भएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको सरुवा भएपछि पौडेल आउनु भएको हो ।
गृह मन्त्रालयले खतिवडालाई जिल्ला प्रशासन कार्यालय सिरहामा सरुवा गरेको छ, भने गृहमन्त्रालयबाट उपसचिव पौडेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा दोलखा खटाएको हो । माघ ६ गते उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णय अनुसार सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेको थियो । सोही अनुसार दोलखाले पनि नयाँ प्रमुख जिल्ला अधिकारी पाएको हो । नयाँ प्रजिअ पौड्यालले दीक्षणकर्मीसँग कुरा गर्दै जिल्लामा शान्तिसुरक्षा र अमनचयन कायम राख्न कुनै कसर बाँकी नराखिने बताउनु भएको छ । उहाँले जिल्लाको सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाउँदै शान्तिसुरक्षा कायम राख्ने बताउनु भयो । प्रजिअ पौड्यालले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह छिटोछरितो र प्रभावकारी बनाउन आफ्नो प्रयास रहने उल्लेख गर्नु भयो ।
Be the first to comment on "दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारी हाजिर"