दीक्षण समाचार
चरिकोट, बैशाख २८
दोलखामा स्थानीय तहको निर्वाचन सचेतनाका लागि नमूना मतदान सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका वडा नं. ६ चोथाङ स्थित मतदानस्थलमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नमुना मतदान गरिएको हो । स्थानीय तहको निर्वाचन आउन दुई दिन बाँकी रहँदा उक्त दिन हुने मतदानमा मत बदर नहोस् भनी जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमूना मतदान गरिएको हो ।
मतदान पूर्व निर्वाचन कार्यालयका प्रमुख, निर्वाचन अधिकारी शकुन्तला राईले मतदान गर्ने तरिका सिकाउन र अभ्यासका लागि मतदाता शिक्षा कार्यक्रम अन्तर्गत नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको बताउनुहुँदै मतदान प्रक्रिया सम्बन्धि जानकारी दिनुभएको थियो । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतपेटिकामा मत खसालेर मतदानको सुरुवात गर्नुभयो । त्यसपछि निर्वाचन प्रक्रियामा भाग लिन लाइन बसेका युवायुवती, महिला, जेष्ठनागरिक तथा सरकारी कर्मचारी मतदाताहरुले पालैपालो मतदान गरेका थिए ।
निर्वाचन अधिकारी शकुन्तला राइका अनुसार नमूना मतदानमा उत्साहित भएर मतदाताहरु सहभागी भएको र त्यसले शुक्रबारको मतदान सहज र सफल हुने बताउनुभयो । पहिलेको जस्तो घरघरमा पुगेर मतदाता शिक्षा दिने कार्यक्रम यो पटक सञ्चालन भएन । तर डिजिटल माध्यमबाट मतदान बारे शिक्षा दिइएकोले मत बदर न्यूनीकरण हुने निर्वाचन अधिकारी राईको विश्वास छ ।
यो पटक मत बदर संख्या बढ्ने अनुमान र चिन्ता भइरहँदा निर्वाचन आयोगले समयसापेक्ष हुने गरी नयाँ शैली अपनाएर डिजिटल मतदाता शिक्षा दिइरहेको छ । सोही अनुसार दोलखामा पनि केही साता अघि देखि नै मोबाइल, रेडियो, अनलाइन, छापा माध्यमबाट निर्वाचन र मतदाता लक्षित सूचना, जानकारी प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।
डिजिटल मतदाता शिक्षाबाट वञ्चित भएका नयाँ मतदाता तथा पूरानै मतदातालाई पनि बुधबार र बिहीबार मतदान स्थलमै मतदान प्रक्रिया सम्बन्धि ज्ञान दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन भईरहेको उहाँले बताउनुभयो ।
“ निर्वाचन कार्यालयले पहिलेजस्तो घरदैलो मतदाता शिक्षा दिइएन । तर सञ्चारमाध्यम, सामाजिक सञ्जाल लगायतबाट उक्त शिक्षा दिइएको छ । उहाँले भन्नुभयो “तर त्यसबाट समेत टाढा रहेकालाई लक्षित गरी मतदान स्थलमै मतदान शिक्षाको व्यवस्था गरिएको छ । बुधबार र बिहीबार सो कार्य जारी रहने छ मतदान स्थलमा खटिएका कर्मचारीले त्यसको सहजीकरण गरिरहेका छन् । जसबाट मतदाताले सही तरिकाले मतदान गर्ने तरिका जान्ने छन् ।” निर्वाचन अधिकारी राईले निर्वाचनलाई सहज र सफल बनाउन निर्वाचन कार्यालयसहित निर्वाचन अधिकृतको कार्यालय लगायतले तयारीलाई अन्तिम चरणमा पु¥याएको सुनाउनुभयो ।
Be the first to comment on "दोलखामा नमुना मतदान सम्पन्न"