दोलखामा धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न नपाइने

इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २९
दोलखामा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस तीव्र गतिमा फैलिन थालेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बैशाख २२ गते ९ बुँदे आदेश सहित बैशाख ३१ गतेसम्मका लागी निषेधाज्ञाको जारी गरे । जारी निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पूर्ण गतिविधि गर्न निषेध गरिएको थियो । चरिकोट, सिंगटी, मैनापोखरी, जिरी लगायतका मूख्य बजार क्षेत्रका अत्यावश्यक मेडिकल र औषधी पसल बाहे सबै पसल दोकान बन्द गरियो । यातायातका साधन सञ्चालनमा प्रतिबन्ध लगाइयो । मानिसलाई अत्यावश्यक काम बाहेक अन्य गतिविधिका लागि बजार निस्कन दिइएन । तर प्रजिअद्धारा जारी आदेशको बुँदा नंम्बर ३ को (ख) मा निषेधाज्ञाको समयमा पनि प्रशासनबाट अनुमति लिएर न्यूनतम मानिसको उपस्थितीमा विवाह व्रतबन्ध गर्न पाइने बताइएको थियो । सम्बन्धित स्थानीय तहको सिफारिस समेतको आधारमा जिल्ला प्रशासन कार्यालको अनुमति लिएर १५ जनाको मात्र सहभागीतामा विवाह ब्रतवन्ध गर्न पाइने उक्त आदेशमा उल्लेख गरिएको थियो । (ख) मा नित्य बाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न रोक लगाइएको भनि उल्लेख गरिएको थियो । तर नागरिकले बुझेनन् कि बुझाइएन । गाउँगाउँमा कोरोना संक्रमणको कूनै प्रवाह नगरी १५ जनाभन्दा बढी भेला भएर विवाह लगायतका अन्य धार्मिक तथा सांस्कृति गतिविधिहरु भए । जसले गर्दा कोरोना संक्रमण फैलावटमा सघाउ पुगेको अनुमान लगाइएको छ । अब भने जिल्लामा यस्ता सांस्कृतिक तथा धार्मिक गतिविधि गर्नै नपाइने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दोलखाको बैशाख २९ गते बसेको बैठकले विभिन्न समुदाय, जात, जाति धर्म सम्प्रदायले कुलपुजा, एवं दिवाली र यस्तै प्रकृतिका धार्मिक, सांस्कृतिक परम्परा तथा गतिविधी गर्न रोक लगाउने निर्णय गरेकाे हाे । यस्ता गतिविधि अर्काे व्यवस्था नभएसम्मका लागि रोक लगाइएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दोलखाले जनाएको छ । केन्द्रले एक सूचना जारी गर्दै जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको वर्तमान अवस्थालाई मध्यनजर गरी यस्तो निर्णय सहित धार्मिक तथा सांस्कृतिक गतिविधिमा रोक लगाएको जानकारी गराएको हो । प्रशासन तथा संकट व्यवस्थापन केन्द्रको यो आदेशको अटेर गरी त्यस्ता गतिविधि गरेको पाइएमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । निषेधाज्ञामा पनि स्थानीय तहको सिफारिसमा प्रशासनबाट अनुमति लिई १५ जनाको उपस्थितिमा विवाह, बत्रबन्ध गर्न पाइने व्यवस्थाअनुसार निषेधाज्ञा छैटौँ दिनसम्म ७ वटा विवाहका लागि अनुमति दिइएको थियो । तर अनुमति लिएर सर्त अनुसारका गतिविधि भएनभएको निरीक्षण तथा अनुगमन गर्ने संयन्त्र नहुँदा उक्त व्यवस्था पनि ठिक नभएको पाइएको थियो ।

Shares

Be the first to comment on "दोलखामा धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न नपाइने"

Leave a comment

Your email address will not be published.


*