दोलखामा दरबन्दी अनुसार छ्रैनन् ट्राफिक प्रहरी

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १
दोलखामा दरबन्दी अनुसार ट्राफिक प्रहरी छैनन् । ट्राफिक अनुशासन कायम र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको उपस्थिति अपरिहार्य हुन्छ, तर जिल्लामा उनीहरुको संख्या न्यून छ। जसले गर्दा लक्ष्य अनुरुप ट्राफिक व्यवस्थापनमा चुनौती र समस्या छ । जिल्लामा पछिल्ला वर्षहरुमा सहरीकरण र यातायातका साधन बढेपनि ट्राफिक व्यवस्थापनको लागि जनशक्ति पर्याप्त नहुँदा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले बताउनुभयो । ”दरबन्दी फूलफिल हुने हो भने, अहिले १५ जना ट्राफिक प्रहरी हुन्थे । तर अहिले पाँच जनाले मात्र धानिरहेका छौँ ।“ प्रमुख पुरीले भन्नुभयो ”दरबन्दी अनुरुप पदपूर्ति भएमा काम गर्न सहज हुन्थ्यो होला, तर त्यस्तो नहुँदा पाँच जनालाई मात्र निकै समस्या हुने गरेको छ । भएका ट्राफिक प्रहरी पनि सदरमुकाम केन्द्रीत हुन्छन् ।“
जिल्लामा सवारी साधनको चाप बढ्दो छ । योसँगै ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति पनि हाबी हुँदै गएको छ । जसको परिणाम वर्षेनी दुर्घटना भईरहेका छन् । ट्राफिक प्रहरीको जिम्मा बढ्दो ट्राफिक नियम उल्लघंन प्रवृत्तिलाई निरुत्साहित गर्नु र दुर्घटना शून्यमा झार्नु हो । तर उक्त लक्ष्य भेट्टाउनै समस्या भएको छ । त्यसको कारणहरुमध्ये प्रमुख कारण हो, ट्राफिक प्रहरीको अभाव । कार्यालय प्रमुख पुरीले भन्नुभयो ”जनशक्तिको अभाव र स्रोतसाधनको अभावमा ट्राफिक व्यवस्थापन गर्न गम्भिर चुनौती छ ।“ अहिले ग्रामीण क्षेत्रमा जहिँतहीँ कच्ची सडक पुगेकोले सवारी साधन पनि सञ्चालन हुन थालेका छन् । जहाँ सञ्चालन हुने सवारी साधन ट्राफिक शिक्षाको अभावले नियम विपरीत चल्ने गर्दछ । उक्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति जरुरी हुन्छ । तर बजार क्षेत्रमै सक्रियता र उपस्थिति बढाउन नसकिरहेको अवस्थामा ग्रामीण क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नु भनेको “आकाशको तारा खसाल्नु” जस्तै हुने प्रमुख पुरीले बताउनुभयो । ”ग्रामीण क्षेत्रका कच्ची सडकमा दुर्घटनाको उच्च जोखिम हुन्छ । तर त्यही ट्राफिक नियम पालना नगर्दा जोखिम बढ्छ । जहाँ हाम्रो पहुँच पुग्नै सकेको छैन ।“ उहाँले भन्नुभयो । यता जिल्लाको अन्य बजार क्षेत्रमा पनि ट्राफिक प्रहरीको उपस्थिति खासै हुँदैन । तर चरिकोट बजारमा भने ट्राफिक प्रहरीको निगरानी हुने गरेको छ । “ बजार र सवारीसाधन सञ्चालनको अवस्था अनुसार ट्राफिक प्रहरी भएमा व्यवस्थापनलाई काबुमा लिन सकिन्थ्यो । तर अहिले त्यस्तो छैन ।” उहाँले भन्नुभयो “केन्द्रीय तहदेखि नै ट्राफिक प्रहरीको दरबन्दी कम, अनि ट्राफिक प्रहरी पनि कम छ । जसले गर्दा जिल्ला दरबन्दी खाली रहेता पनि पदपूर्ति हुन सकेको छैन ।” सवारी साधनहरु बढिरहेको तर दरबन्दी अनुसार प्रहरी नपठाउँदा र दरबन्दी नबढाउँदा समस्या बढ्दो छ । पाँच जना मात्र भएपनि भ्याएसम्म सक्दो ट्राफिक व्यवस्थापन गरिरहेको प्रमुख पुरीले दाबी गर्नुभयो । आवश्यक जनशक्ति र स्रोतसाधन अभावमा पिल्सिएर काम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि भाडाको घरमा सञ्चालित रहेको छ । जग्गा उपलब्ध भएपनि बजेटको अभावमा भवन निर्माण हुन नसक्दा वर्षेनी भाडा तिरेर साँघुरो कोठामा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यतामा ट्राफिक प्रहरी रहेका छन् । बसपार्कको अभाव रहेको चरिकोटमा सडकमै सवारी पार्क गरी निर्माण सागाग्रीका साथै अन्य सामाग्री ढुवानी गर्दा जोखिम भएको ट्राफिक प्रहरी प्रमुख पुरीले सुनाउनुभयो । त्यसैगरी शनिबार सडक विभागको गेटदेखि सातदोबाटोसम्मै सडक र फुटपाथ व्यापारीले कब्जा गरी व्यापार गर्दा दुर्घटनाको जोखिम हुने गरेको उहाँले बताउनुभयो । “सडक र फुटपाथमा सामाग्री नराख्न व्यापारीलाई भनेपनि अटेरी बन्दा समस्या भएको छ ।” उहाँले भन्नुभयो ।

Shares

Be the first to comment on "दोलखामा दरबन्दी अनुसार छ्रैनन् ट्राफिक प्रहरी"

Leave a comment

Your email address will not be published.


*