दोलखामा थपिदै मतदाता

ईश्वर विश्वकर्मा
चरिकोट, असार १५
बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कालिञ्चोक गाउँपालिकाका स्थित आलम्पुका डबल थामी मतदान प्रक्रियामा सहभागी हुनबाट वञ्चित हुनुभयो । मतदाता नामावलीमा नाम भएकाहरूले आफ्नो मताधिकार उपयोगमा मनपरेको उम्मेदवारलाई जिताउन मतदान गरे । तर उहाँले आफ्नो नाम नामावलीमा नभएपछि मताधिकारबाट वञ्चित हुन परेको थियो । आफूले चाहेको उम्मेदवारलाई चाहँदाचाहँदै पनि मतदान गर्न नपाउँदा उहाँलाई दुख लागेको थियो । तर अब भने उहाँले मताधिकार उपयोग गर्न पाउने भएपछि खुशी हुनुभएको छ । मंगलबार फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएपछि उहाँ मतदाता बन्नुभएको छ । उहाँले आगामी निर्वाचनमा मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणको आधारमा मतदान गर्न पाउनु हुने छ । “स्थानीय तहको चुनावमा सबैले भोट हाल्दा मैँले हाल्न पाइन । मतदाता नामावलीमा नाम दर्ता नभएपछि मतदानमा सहभागी हुन नपाउँदा निकै दुख लागेको थियो ।” उहाँले भन्नुभयो “तर अहिले भने म मतदाता भएको छु । म पनि मतदान गर्न योग्य भएको हुँदा मलाई असाध्यै खुशी लागेको छ ।” उहाँले गत मंगलबार जिल्ला प्रशासन कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउनुभएको थियो । सोही क्रममा उहाँले मतदाता नहुँदाको दुख र मतदाता हुँदाको खुशी व्यक्त गर्नुभएको हो । “नामावलीमा नाम हुनेहरूलाई गएको चुनावमा विभिन्न आश्वासन दिँदै नेताहरूले भोट माग्न आए । तर मेरो नाम नभएकोले कोहीकसैले पनि वास्ता गरेनन् । मलाई सबैबाट उपेक्षामा परिएको जस्तो लाग्यो ।” उहाँले भन्नुभयो, “ त्यतिबेला मतदान गर्नबाट छुटे । तर अब म मतदानमा छुट्ने छैन ।” जिल्लामा अहिले मतदाता बन्न योग्य व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गरिरहेका छन् । जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना पछि असार १ गतेदेखि पुनः मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम सुरु भएपछि मतदाता बन्न चाहने नागरिकहरूले नाम दर्ता गराईरहेका छन् । यसअघि छुटेका नागरिकहरूले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय  सिंगटीबाट नाम दर्ता गराइरहेका हुन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल केसीले मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकहरू दिनहुँ आउन थालेका बताउनुभयो । “मतदाता नामावली संकलन सुरु भएदेखिनै नाम दर्ता गराउन नागरिकहरु आउन थालेका छन् ।” उहाँले भन्नुभयो “मतदाता नामावलीमा नाम नहुँदा स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकहरुले आगामी निर्वाचनमा मतदान गर्न धमाधम नाम दर्ता गराइरहेका छन् ।” मतदाता नामावलीमा नाम दर्ताका लागि धेरै समय लाग्दैन । त्यसैले पनि आफ्नो कामलाई केही समयका लागि थाती राखेर नागरिकहरू नाम दर्ताका लागि उपस्थित हुन थालेका छन् ।  
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यक्रम सुरु गरेको हो । निर्वाचनको मिति घोषणा नभएसम्म उक्त कार्यक्रम जारी रहने छ । कार्यक्रममा नामावलीमा नाम दर्तासँगै त्रुटि सच्याउने, विवाह तथा बसाइँसराइको कारणले मतदाताको ठाउँ सारी गर्न, मतदाता नामावलीमा कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा आवश्यक प्रमाणसहित उजुरी दिन सकिने छ । त्यसैगरी कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भए एक स्थानमा मात्र कायम गर्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नामावलीबाट नाम हटाउनाको लागि सूचना दिन सकिने सूचना अधिकारी केसीले बताउनुभयो । उहाँले मताधिकारको उपयोग गरी आफ्नो प्रतिनिधि छान्ने अधिकार प्राप्त हुने भएकोले नामावलीमा नाम दर्ता गराई मतदाता बन्न अनुरोध गर्नुभयो । मतदान एक अधिकार मात्र नभई भविष्य निर्धारणको आधार समेत रहेको उहाँले बताउनुभयो । मतदाता नामावलीमा नाम दर्ता नगरेका व्यक्तिलाई जनप्रतिनिधि, राजनीतिक दल, नेता तथा परिवारले नाम दर्ता गर्नका लागि उत्प्रेरित गर्नुपर्ने उहाँले सुनाउनुभयो । उहाँले निर्वाचन कार्यालयको तर्फबाट सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध र सचेतनासहितको सूचना तथा सामाग्रीहरु प्रकाशन, प्रसारण गरिरहेको बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा थपिदै मतदाता"

Leave a comment

Your email address will not be published.


*