इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक २३
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखालाई सोमबार ट्राफिक सहयोग सामाग्री प्रदान गरिएको छ । चरिकोटमा रहेको केसी सोक एण्ड केमीकल इन्डष्ट्रिज प्रालिले ट्राफिक व्यवस्थापनमा खटिने प्रहरीका लागि २० हजार ३ सय रुपैयाँ बराबरको ट्राफिक सामाग्री प्रदान गरेको हो । प्रालिका प्रोपाइटर शिव केसीले ट्राफिक कार्यालय प्रमुख एवं प्रहरी नायब निरीक्षक भानुभक्त नेपाललाई ज्याकेट, सिठ्ठी लगायतका सामग्री हस्तान्तरण गर्नुभयो । प्रदान गरिएका सामग्रीहरुमा आठ वटा ज्याकेट, आठ वटा क्याप, आठ वटा सिठ्ठी, टाइ लगायत रहेको छ । ट्राफिक व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन तथा सुधारको निम्ति प्रहरीहरु अहोरात्र परिचालित भईरहन्छन् । उनीहरु कार्यक्षेत्रमा खटिदाँ आवश्यक पर्ने सामग्री प्राप्त भएपछि थप उत्साह मिलेको प्रहरी नायब निरीक्षक नेपालले बताउनुभयो ।
जिल्लामा बढ्दो सवारी चाप कारण दिनप्रतिदिन ट्राफिक व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्न थालेको छ । यसलाई मध्यनजर गर्दा उल्लेख्यमात्रामा ट्राफिक प्रहरी र विभिन्न उपकरण तथा ट्राफिक सामग्रीको आवश्यकता रहेको देखिएको छ । ती सामग्रीहरुको उपलब्धताको लागि बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालय, स्थानीय सरकार तथा विभिन्न संघसंस्थालाई अनुरोध गरिएको थियो । सोही अनुरोधलाई स्वीकार गर्दै विभिन्न सामग्रीहरु प्राप्त भईरहेको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा जिल्लाको ट्राफिक व्यवस्थापनमा थप नयाँ आयाम र नौलो महसुश गराउन आफू तल्लिन रहेको बताउदैँ उहाँले भन्नुभयो “ ट्राफिक कार्यालयमा आवश्यक उपकरण तथा सामग्री उपलब्ध भईरहेको छ । यसले ट्राफिक व्यवस्थापनमा सहज र सहयोग पुगेको छ ।”
केही महिनाअघि चरिकोट सडक दुर्घटना न्यूनीकरणका गर्नको लागी दोलखाको सदरमुकाम चरिकोटको सडकमा ९० वटा डिभाइडर राखिएको थियो । सडक डिभाइडरको ब्यवस्थापन सडक विभागले गरेको हो । त्यसैगरी दशैँअघि बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट एक वटा ब्रेथेलाइजर मेसिन प्राप्त भएको छ । यसले चालको फोटो, गाडीको फोटो, अल्कोहल खाएको भए त्यसको मात्रा समेत प्रिन्ट गर्न मिल्ने उहाँले बताउनुभयो । यसको अभावमा यसअघि सवारी चालकले मादक पदार्थ सेवन गरेनगरेको भन्ने चेकजाँचका लागि ट्राफिक प्रहरीद्धारा चालकको मुख सँघ्नुपर्ने अवस्था रहेको थियो । एक वटा मात्र मेसिन रहेकोले पर्याप्त भने छैन ।
त्यसैगरी भीमेश्वर नगरपालिकाद्धारा पाँच वटा ह्वील लक समेत प्राप्त भएको छ । निषेधित क्षेत्र तथा जथाभावी सवारी पार्क गरेको खण्डमा सवारीको पांग्रा लक गरी कारबाही गर्न ह्वील लकको प्रयोग हुन्छ । प्रहरी नायब निरीक्षक नेपालले सचेतनामुलक कार्यक्रम गर्न प्रोजेक्टर, गोप्रो क्यामरा लगायत अन्य ट्राफिक सामग्री उपलब्धताको लागि पहल गरिरहेको सुनाउनुभयो ।
Be the first to comment on "दोलखामा ट्राफिक सामाग्री सहयोग"