दीक्षण समाचार
चरिकोट, बैशाख २४
दोलखामा जिल्ला सुरक्षा समितिले निर्वाचन लक्षित सुरक्षा योजना कार्यान्वयन गरेको छ । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहीत र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विषेश सुरक्षा योजना कार्यान्वयन गरिएको हो ।
२०७४ सम्पन्न निर्वाचनको विश्लेषण गरी सोही आधारमा मतदान स्थलको अवस्था र संवेदनशीलताको पहिचान तथा अनुगमनअध्ययन गरी सुरक्षा व्यवस्था कडा पारिएको समितका सँयाेजक एवम् प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनुभयो । उहाँका अनुसार सुरक्षा योजना कार्यान्वयन गरिएसँगै जिल्लामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ती सुरक्षाकर्मीले जिल्लाको शान्ति सुरक्षाको अवस्थाको अनुगमन र निगरानी गरिरहेका छन् ।
मतदानस्थलको संवेदनशीलताका आधारमा विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न हुने जानकारी दिनुभयो । जिल्लामा निर्वाचन अघि, निर्वाचनको समय र सोपछिको समयमा सुरक्षा व्यवस्था कडा पारिने प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनुभयो ।
संवेदनशीलताको आधारमा दोलखामा मतदान स्थलको वर्गिकरण तीन प्रकारमा गरिएको छ । जिल्लामा यो पटकको निर्वाचनका लागि ९४ वटा मतदान स्थल रहेकोमा ४१ वटा अतिसंवेदनशील, ३७ वटा संवेदनशील र १६ वटालाई सामान्य भनी वर्गिकरण गरिएको छ। निर्वाचनमा मतदानस्थल, मतदान केन्द्र, निर्वाचन अधिकृतको कार्यालय, उम्मेदवार र मतदाताको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो ।
दोलखामा निर्वाचनको बेला अवाञ्छित एवं अपराधिक क्रियाकलाप हुन नदिने योजना छ, यदि भइहालेमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो । “निर्वाचनमा सुरक्षा प्रत्याभूतिका लागि २४ सै घण्टा सुरक्षाकर्मी परिचालन हुने छन् ।” उहाँले भन्नुभयो “ निर्वाचनमा खटिने कर्मचारीले सुरक्षति रुप काम गर्न पाउने छन्, मतदाताले सहजै सुरक्षित मतदान गर्न पाउने छन् ।”
उहाँका अनुसार प्रत्येक मदतान स्थल, केन्द्रको भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिने छन्, त्यसैगरी त्यो भन्दा बाहिरी घेरामा शसस्त्र प्रहरी र सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा कायम राख्ने छन् । उहाँले निर्वाचनलाई शान्तिपूर्ण बनाउन राजनीतिक दल, कर्मचारी, नागरिक र सञ्चारकर्मीको विषेश सहयोग अपरिहार्य हुने र सोही अनुसार सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।
Be the first to comment on "दोलखामा चुनावी सुरक्षा योजना कार्यान्वयन"