दोलखामा घरेलु हिंसाका ४० उजुरी दर्ता

ईश्वर विक ÷चरिकोट ः जिल्ला प्रहरी कार्यालय दोलखामा घरेलु हिंसाका ४० वटा उजुरी परेका छन् । कार्यालयको महिला तथा बालबालिका केन्द्रमा चालु वर्षको साउनदेखि हालसम्म उक्त संख्यामा उजुरी दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले खानलाउन नदिएको, स्याहार सुसार नगरेको, कुटपिट गरेको, शारीरिक एवं मानसिक यातना दिएको लगायतका व्यहोरामा उजुरी दर्ता भएको बताउनुभयो । दर्ता उजुरी मध्ये २५ वटा मिलापत्र गराइएको, तीन वटा मुद्दा अदालतमा पठाइएको र १२ वटा प्रक्रियामा रहेको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक सिग्देलले उजुरी परेपछि दुबै पक्षलाई बोलाई मिल्ने भए मात्र मिलापत्र गराउने र नमिल्ने भए अदालत पठाउने गरिएको जानकारी दिनु भयो ।
पछिल्लो बर्षहरुमा सुगमका मात्र होइन दुर्गम क्षेत्रका घरेलु हिंसा पीडित महिलाहरुबाट पनि न्याय माग्दै उजुरी दर्ता हुन थालेको उहाँको भनाई छ । तर अझै पनि कतिपय पीडित महिलाहरु भने प्रहरी सम्म पुग्न सकेका छैनन् । परिवार, समाजको डरले महिलाहरुले खुलेर आफू माथि भएको हिंसा सहेर बस्ने गरेका छन् । उनीहरू पीडक बिरुद्ध न्यायिक प्रक्रियामा जान सक्दैन । जसले गर्दा हिंसाले प्रश्रय पाइरहेको उहाँको भनाई छ । निरीक्षक सिग्देलका अनुसार गत आव २०७८÷०७९ मा घरेलु हिंसा विरुद्ध ८१ वटा उजुरी दर्ता भएको थियो । जसमा ४८ वटा मिलापत्र र आठ वटा अदालति प्रक्रियामा गएका थिए । २६ वटा उजुरीका उजुरी कर्ता सम्पर्कमै आएका थिएनन् ।
जिल्लामा महिला हिंसा विरुद्धको थुप्रै अभियान सञ्चालन हुने गरेका छन् । तर ती अभियानहरु प्रभावकारी नहुँदा महिला विरुद्धको हिंसा न्यूनीकरण हुन नसकेको महिला अधिकार कर्मीहरुको दावी छ ।

Shares

Be the first to comment on "दोलखामा घरेलु हिंसाका ४० उजुरी दर्ता"

Leave a comment

Your email address will not be published.


*