दोलखामा गरिब घरपरिवार पहिचानकाे लागि गणक र सुपरिवेक्षकलाई प्रशिक्षण

इश्वर बिश्वकर्मा
चरिकोट, माघ २६
गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई लक्षित गरि ५ दिने प्रशिक्षण कार्यक्रम चरिकोटमा सुभारम्भ गरिएको छ । जिल्ला समन्वय समिति दोलखाको आयोजनामा भएको कार्यक्रममा दोलखा जिल्लाका ९ वटै स्थानीय तहबाट ९ जना सुपरिवेक्षक र ५० जना गणक सहभागी भएका छन् । तालिममा भीम कुमार थामी, रबि बस्नेत, प्रभास जोशी, मनिक दाहाल, संगिता बुढाथोकी, कविता ढुङ्गेल पवनराज फुँयाल, जनराज योञ्जन र विमल कुमार दाहालले सहजीकरण गर्ने छन् । तालिम उद्धघाटन समारोहमा जिसस प्रमुख डबल पाण्डेले गणक तथा सुपरिवेक्षकहरुको ज्ञान, सीप तथा क्षमता अभिबृद्धिका लागि तालिम महत्वपुर्ण हुने बताए । उद्धघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी, जिसस उपप्रमुख मनमाया जिरेल, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, मालपोत कार्यालय दोलखाका प्रमुख रामकृष्ण उप्रेती, नापी कार्यालय दोलखाका प्रमुख राजु पुरी लगायतले दिइएको जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गर्न गणक तथा सुपरिवेक्षकलाई सल्लाह दिएका थिए । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत छनौट भएका गणक तथा सुपरिवेक्षक प्रशिक्षण कार्यक्रम माघ ३० गते सम्म सञ्चालन हुने छ । गणक तथा सुपरिवेक्षकहरुले आ–आफ्नो पालिकामा परिचालित भई चालु आर्थिक वर्ष भित्रमा गरिब घरपरिवार पहिचान गरिसक्ने छन् । गणकहरुले घरायसी सुबिधा, घरायसी सम्पत्ति, जग्गा जमिनको अवस्था, परिवारको अवस्था, बसोबासको अवस्था लगायत ९ सुचकको आधारमा तथ्याङ्क संकलन गर्ने छन् । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गणकहरुबाट प्राप्त तथ्याङ्क पठाइने र मन्त्रालयद्धारा प्रशोधन गरि गरिब परिचयपत्र वितरण हुने जनाइएको छ । राज्यको तर्फबाट राहत उपलब्ध गराउन गरिब वर्गको पहिचान तथा तथ्याङ्क नहुँदा समस्या हुने गरेको छ । यो समस्या समाधान गर्न र गरिब वर्गको हित हुने गरी आयआर्जन, सीपमुलक, खाद्य सुरक्षा भत्ता लगायतका सामाजिक संरक्षणका कार्यक्रम सञ्चालन गर्न गरिब घरपरिवार पहिचान गरि परिचयपत्र वितरण हुनेछ ।

Shares

Be the first to comment on "दोलखामा गरिब घरपरिवार पहिचानकाे लागि गणक र सुपरिवेक्षकलाई प्रशिक्षण"

Leave a comment

Your email address will not be published.


*