दोलखामा खुकुलो निषेधाज्ञाः यातायातका साधन र व्यवसाय संचालन गर्न पाइने

इश्वर बिश्वकर्मा
चरिकोट, असार १४
दोलखामा केही महिना मत्थर भएको कोरोना संक्रमण पुनः बढ्न थालेसगैँ बैशाखदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा लागू भएपछि यातायातका साधनका साथै सबै प्रकारका उद्योग व्यावसाय सञ्चालन हुन पाएन । मानिसलाई अनावश्यक हिंडडुलमा प्रतिबन्ध लगाइयो ।

यसले गर्दा मानिसकाे दैनिक क्रियाकलापमा कठिनाइ भयाे । तर निषेधाज्ञाका लागू भएकै कारण धेरै मानिस कोरोना संक्रमण हुन बाट जोगिए । कोरोनाले भयावह रुपमा लिन पाएन । यद्यपी नयाँ संक्रमितको संख्या थपिने क्रम पनि रोकिएको छैन् । पहिलेको तुलनामा अहिले संक्रमित न्यून मात्रामा थपिने गरेका छन् । बैशाखको २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा आज राती १२ बजेदेखि हट्दै छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी उपाय मानिएको निषेधाज्ञा सोमबारदेखि खुकुलो बनाएर लागु हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको सिफारिस र प्राप्त अधिकार अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका हुन् । जारी निषेधाज्ञाको समयमा सबै प्रकारका व्यवसाय साँझ छ बजेसम्म संचालन गर्न पाइने छ । यातायात साधन जिल्लाभित्रमात्रै जोरविजोर प्रणालीमा संचालन गर्ने पाइने आदेशमा उल्लेख गरिएको छ ।

निषेधाज्ञाको समयमा सबै प्रकारका शिक्षण संस्था, सभा, सम्मेलन, गोष्ठी, तािलम, सेमिनार, सिनेमा हल, पार्ती प्यालेस, स्वीमिङ पुल, मनोजरञ्जन स्थल, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, खेलमैदान हुने खेलकुद संचालन र मानिसहरुको भिडभाड हुने कार्यक्रम गर्न नपाइने बताइएको छ । विवाह, व्रतबन्ध, दिवाली, कुलपूजा तथा धार्मिक सांस्कृतिक कार्यक्रम संचालनमा लगाइएको प्रतिबन्ध कायमै राखिएको छ ।

यो निषेधाज्ञा २१ असार सम्म लागू हुने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा नयाँ कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन् । यसको कुनै विश्लेषण नगरी काठमाडौँ उपत्यकाको सिको गर्दै निषेधाज्ञा खुकुलो पार्दा व्यवसायी तथा सवारी सञ्चालकहरु खुसी भएका छन् । तर कोरोना जोखिम बढ्ने भन्दै चिन्ता व्यक्त हुन थालेको छ । निषेधाज्ञा खुल्दा भिडभाड हुन्छ । स्वास्थ्य मापदण्ड पालना हुदैँन, जसले गर्दा जोखिम बढ्ने सरोकारवालहरुद्धारा चिन्ता व्यक्त हुन थालेका छन् ।

Shares

Be the first to comment on "दोलखामा खुकुलो निषेधाज्ञाः यातायातका साधन र व्यवसाय संचालन गर्न पाइने"

Leave a comment

Your email address will not be published.


*