दोलखामा कृषिगणनाको तयारी हुँदै

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २२
राष्ट्रिय कृषिगणना सम्बन्धि जिल्लास्तरीय सचेतना गोष्ठी दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । ‘कृषिगणनाको सार, कृषि योजनाको आधार’ भन्ने मुल नाराका साथ आगामी बैशाख ६ देखि जेठ १९ गतेसम्म ४५ दिन हुन लागेको कृषिगणना सम्बन्धि जानकारी दिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । जिल्ला कृषिगणना कार्यालय दोलखाको आयोजनामा जिल्ला समन्वय समितिको हलमा भएको उक्त गोष्ठीका सहभागीहरुले सत्य तथ्यपरक विवरण संकलन गरी कृषि गणना सफल पार्नुपर्ने धारणा व्यक्त गरे । कार्यालय प्रमुख एवं जिल्ला कृषि गणना अधिकृत कमलराज गिरीले नेपालमा हरेक दश वर्षमा हुँदैआएको राष्ट्रिय कृषिगणना २०७८ सातौं पटक हुन लागेको सुनाउनुहुँदै कृषिगणनामा सत्य र तथ्य परक तथ्याङ्क संकलन हुने बताउनुभयो । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषि कार्यको तथ्यांक संकलन हुने छ । ”कृषि अवस्थाको जानकारी पाउन र कृषि विकासका लागि योजना तर्जमा एवं नीति निर्माणको सघाउका लागि कृषिगणनाको महत्व रहेको छ । त्यसैले कृषिगणना यर्थाथपरक हुनुपर्छ ।“ उहाँले भन्नुभयो ”पूर्व तयारीलाई व्यापक बनाइएकोले उद्धेश्य अनुरुप कृषि गणना सफल हुने छ ।“ उहाँका अनुसार घरपरिवाररले गरेको कृषि कार्यको तथ्याङ्क छनोट विधिमा आधारित रहने भएकोले जिल्लाको सबै स्थानीय तहको छुट्टाछुट्टै यर्थाथपरक तथ्याङ्क आउने छ । जिल्लामा १ सय ७० वटा गणना क्षेत्र तोकिएको छ । ती क्षेत्रहरुमा विभिन्न आधारमा छनौट भएका तालिम प्राप्त ६९ जना गणक, १८ जना सुपरिवेक्षक तथ्याङ्क संकलनार्थ परिचालन हुने प्रमुख गिरीले बताउनुभयो ।

जिल्ला कृषि गणना अधिकृत कमलराज गिरी

उनीहरुले तथ्याङ्क संकलन कार्य निर्धारित समयमा एउटै समयसीमा भित्र दुई चरणमा गरिन्छ । प्रथम चरणमा गणकहरुद्धारा छानिएका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारको सूचिकरण कार्य गरिन्छ । दोस्रोमा निश्चित तथ्याङ्किय छनौट विधिबाट सुपरिवेक्षकहरुद्धारा छानिएका कृषक परिवार (औषातमा २५ वटामा)मा पुगी गणकहरुद्धारा कृषक परिवार प्रश्नावली फाराम मार्फत कृषकले चलन गरेका जग्गा तथा पशुपन्छीपालन, अन्यखेती, वातावरण लगायतका विविध विषयसम्बन्धि विस्तृत विवरणहरु संकलन गर्नछन् । तीन वटा मुख्य प्रश्नावली रहेका छन् । कमल राज गिरीका अनुसार कृषक परिवार सूचिकरण लगत, कृषक परिवार प्रश्नावली र वडास्तरीय सामुदायिक प्रश्नावली कृषि गणनाको लागि तयार गरिएको छ । घर परिवारले गरेको कृषि कार्य, संस्थागत कृषि कार्य (सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायहरुले गरेका कृषि कार्य), वडागत सामुदायिक कृषि सम्बन्धि क्रियाकलापहरु कृषि गणनामा समेटिने क्षेत्रहरु रहेका छन् । कृषि जग्गाको स्वामित्वको विषयमा भने गणना नहुने कार्यालय प्रमुख, कृषिगणना अधिकृत बताउनुभयो । उहाँका अनुसार जिल्लामा कृषि गणनाको लागि केन्द्रीय तथ्याङ्क विभागले सुपरिवेक्षक र गणकको आवेदन खुलाएकोमा अनलाइन मार्फत प्राप्त निवेदनको आधारमा छनौट भएका सुपरिवेक्षक र गणकलाई चैत्र २४ गतेसम्म नियूक्त गर्ने छ । उनीहरुलाई चैत्र २५ देखि बैशाख तीन गतेसम्म तालिम प्रदान गरिने र ६ गतेदेखि फिल्डमा खटाइने छ । कृषि अधिकृत गिरीले कार्यतालिका प्रस्तुत गर्नुहुँदै कृषिगणनाको तथ्याङ्क संकलन कार्यको समापनपछि जेठ २० देखि २४ गतेसम्म प्रश्नावलीको पूर्णता चेकजाँच गरिने र २५ गते सुपरिवेक्षक तथा गणकको बिदाई गरिने र जेठ मसान्तमा कार्यालय बन्द गरिने छ । निर्वाचनको समयमा केही दिन बिदा रहने भएकोले कृषिगणना प्रभावित नहुने उहाँले बताउनुभयो । जिल्ला कृषिगणना समन्वय संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले कृषि क्षेत्रको विकास र आत्मनिर्भरताको लागि कृषिगणना पहिलो कार्य भएकोले यसको सम्पनता र सफलताको लागि सबैको सहयोग, समन्वय र सहजीकरण आवश्यक हुने बताउनुभयो । उहाँले गणना कार्यमा खटिने जनशक्ति र सामाग्रीको सुरक्षाको प्रबन्ध प्रभावकारी र विषेश बनाइने सुनाउनुभयो । जिल्ला समन्वय समितिको भवनमा तीन महिनाको लागि कृषि गणना कार्यालय स्थापना गरी कृषिगणनको पूर्वतयारीलाई तीव्र पारिएको सहयाक कृषि गणना अधिकृत विप्र खड्काले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "दोलखामा कृषिगणनाको तयारी हुँदै"

Leave a comment

Your email address will not be published.


*