दोलखामा काठमाडौं महानगरको अनुसरणः निजी शौचालयलाई सर्वसाधारणको लागि खुल्ला

ईश्वर विश्वकर्मा
चरिकोट, जेठ २६
काठमाडौं महानगरमा जारी अभियानको दोलखामा अनुसरण हुन थालेको छ । नवनिर्वाचित महानगर प्रमुख बालेन्द्र शाहको प्रस्तावलाई स्वागत गरी होटल तथा रेस्टुरेन्ट र बैंकका शौचालयलाई सर्वसाधारणको लागि खुल्ला गर्ने योजना अभियानको रुपमा सञ्चालन भइरहेको छ । उक्त अभियानको समर्थन र अनुकरण गर्दै दोलखाका होटल व्यवसायीले आफ्ना शौचालयलाई सार्वजनिक शौचालयमा रुपान्तरण गरेका छन् ।
महानगर प्रमुख शाहको योजनामा सञ्चालित अभियान असल र स्वागतयोग्य रहेको भन्दै दोलखामा पनि अभियानको समर्थन तथा सुरुवात भएको हो । खुल्ला शौच मुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा यसलाई समेत सघाउन र शौचालय अभियानलाई देशव्यापी बनाउने उद्देश्यले दोलखाका होटल व्यवसायीले अभियानको सुरु गरेका हुन् ।
दोलखा सदरमुकाम चरिकोटमा अवस्थित ड्रीम्स क्याफेले आफ्ना ग्राहकका निम्ति सञ्चालित शौचालयलाई सबै सर्वसाधारणको लागि प्रयोग गर्न दिने घोषणा गरेको छ। बिच बजार स्थित क्याफेको शौचालयलाई सार्वजनिक प्रयोजनका लागि अनुमति दिइएको क्याफेका सञ्चालक भरतरोन श्रेष्ठले बताउनु भयाे  । बालेन्द्र शाहको समर्थनमा निजी शौचालयलाई सार्वजनिक प्रयोजनका लागि अनुमति दिने अभियानलाई देशव्यापी बनाउन सहयोगका लागि सो कार्य सुरुवात गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार निशुल्क प्रयोग गर्न मिल्ने गरी सर्वसाधारणको लागि शौचालय खुल्ला रहने छ। सार्वजनिक शौचालय रहेको जानकारीका लागि क्याफे अगाडी बोर्ड राखिएको छ ।
शौचालय पर्याप्त नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासोलाई सम्बोधनका लागि व्यक्तिगत रुपमा सक्रिय भएको उहाँको भनाई छ। सदरमुकाम चरिकोटमा सर्वसाधारणको अत्यधिक चाप हुन्छ । तर कृषि बजार छेवैमा एक वटा मात्र अस्थायी सार्वजनिक शौचालय रहेको छ । त्यसले पर्याप्त नभएको भन्दै सर्वसाधारणको गुनासो छ । त्यही गुनासो सम्बोधन सहित भीमेश्वर नगरपालिकाले सपिङ कम्प्लेक्समा सार्वजनिक शौचालय निर्माण गरेको छ । तर कम्प्लेक्स सञ्चालन नहुँदा शौचालय पनि खुल्ला गरिएको छैन ।
भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा बजारमा अवस्थित दि पुर्खुचा दोलखा रिसोर्टले पनि अभियानलाई सहयोग पुर्याउने गरी आफ्नो शौचालय सार्वजनिक प्रयोजनका लागि अनुमति दिइएको छ। प्रसिद्ध भीमेश्वर मन्दिर आउने धार्मिक पर्यटकका कारण भीडभाड हुने दोलखा बजारमा पर्यटकलाई लक्षित गरी शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिइएको हो । होटलका ग्राहकले मात्र प्रयोग गर्ने शौचालय अब ग्राहक बाहेक सर्वसाधारणले पनि निर्बाध रुपमा प्रयोग गर्न पाउने भएका हुन् ।
बजारमा दुई वटा सार्वजनिक शौचालय रहेको छ। रिसोर्टको शौचालयसँगै तीन वटा शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने भएका हुन ।
सार्वजनिक शौचालय भएपनि पर्याप्त नहुँदा जिल्लामा आउने पर्यटक सहित सर्वसाधारणलाई समेत शौच गर्न समस्या हुने गरेको छ। शौच जस्तो अत्यावश्यक क्रियालाई शौचालय अभावमा शाैच गर्न नपाउँदा  तत्कालीन समस्या र दीर्घकालीन स्वास्थ्य जटिलता समेत हुन सक्छ। त्यसमा पनि खुल्ला दिसापिसाब मुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा शौचालयको सहजता अपरिहार्यता हुन्छ। यसलाई समेत मध्यनजर गर्दै काठमाडौँ महानगरका प्रमुखको समेत समर्थन हुने गरी निजी शौचालयलाई सार्वजनिक प्रयोजनमा खुल्ला गरिएको होटल व्यवसायीले जनाएका छन् । शौचालय जस्तो संवेदनशील संरचना सर्वसाधारणको चाप र आवश्यकताको आधारमा विभिन्न स्थानमा हुनपर्ने उनीहरुको भनाई छ ।

Shares

Be the first to comment on "दोलखामा काठमाडौं महानगरको अनुसरणः निजी शौचालयलाई सर्वसाधारणको लागि खुल्ला"

Leave a comment

Your email address will not be published.


*