दोलखामा एमालेको कार्यकर्ता भेला सम्पन्न

इश्वर बिश्वकर्मा /चरिकोट, असोज २० –नेकपा एमाले दोलखाको अगुवा कार्यकर्ता भेला बुधबार चरिकोटमा सम्पन्न भएको छ । चरिकोट स्थित गौरीशंकर क्याम्पसको प्राङ्गणमा कार्यकर्ता भेला हुने प्रचारप्रसार गरिएपनि पानी परेपछि कार्यक्रम स्थल नै परिवर्तन गरी ढिला गरी एवान पार्टी प्यालेस चरिघ्याङ्मा गरिएको थियो । नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले सहभागी कार्यकर्ताको संख्यालाई मध्यनजर गरी क्याम्पास प्राङ्गणमा भेला गर्ने निर्णयसहित निमन्त्रणा गरिएको तर कार्यक्रम सुरु हुने बेलैमा पानी परेको कारण त्यस स्थानमा कार्यक्रम गर्न नसकिएपछि पार्टी प्यालेसमा गरिएको बताउनुभयो ।भेलामा उहाँले भन्नुभयो “हामीले यो कार्यक्रम अलिक फराकिलो ठाउँको पहिचान गरी गौरीशंकर कलेजमा गर्ने निर्णय गरेका थियौँ । तर पानीको कारणले हामीले त्यहाँ कार्यक्रम गर्न सकेनौँ । यस कारण यो अपठ्यारो परिस्थितिमा यहाँ कतिपयले बस्ने ठाउँ पाएका छौँ, कतिपय बाहिर चिसोमा उभिएका छौँ ।”कार्यक्रममा उपाध्यक्ष नर बहादुर श्रेष्ठले जिल्लामा अन्य विकासको कार्य गरेको तर दुई हजार जना अट्ने हल नबनाए बापत भेला कार्यक्रम कहिले उता कहिले यता भएको बताउनुभयो । उहाँले पार्टीको केन्द्रीय सदस्य एवं सांसद पार्वत गुरुङ र एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेललाई हल निर्माणको लागि बजेट विनियोजनको पहल गरिदिन अनुरोध गर्नुभयो । सभालाई सम्बोधन गर्नुहुदैँ एमाले स्थायी कमिटी सदस्य पोखरेलले एमालेलाई गठनबन्धन बनाएर माधव नेपालले सिध्याउन गरी लागिपरिहेको आरोप लगाउनुहुदैँ एमालेलाई कुनैपनि शक्तिले परास्त गर्न नसक्ने बताउनुभयो । “ हामीले नेता मानेका र लामो समय विश्वास गरेको नेता पार्टी छोडेर एमाले सिध्याउने कसम खाएर लाग्नुभएको छ ।” उहाँले भन्नुभयो “तर एमाले सिध्याउने कुरा पहरामा कुहिनो ठोक्काउनु झैँ हो । उहाँको कुहिनोमा रगत बग्ला तर एमाले सिध्याउन नसकिने उहाँले बुझ्नुभएको छ । किनकी एमाले कमजोर पार्टी होइन ।” उहाँले केपी ओली र एमालेमाथी हमला भईरहेको बताउनुहुँदै एक व्यक्ति वा पार्टीलाई मात्र नभई सिंगो देश, जनता र जनभविष्य माथी हमला र घेराबन्दी भएको बताउनुभयो । ती सबै गलत प्रवृतिको बिरोध र कर्तुतको भण्डाफोर गरिने बताउनुभयो । भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य पार्वत गुरुङले मौसमले साथ दिएको भए ऐतिहासिक र बृहत आम सभा हुने थियो भन्नुहुँदै उहाँले शिव प्रसाद भण्डारी लगायतलाई आफैँले बनाएको एमाले पार्टीमा फर्किन आग्रह गर्नुभयो । सदस्य गुरुङले दशैँमा पनि विभाजनको पक्षमा लागेकाहरुलाई एमालेमैँ फर्काउने गरी छलफल गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।सभामा बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले हिम्मत भए गठबन्धन बनाएर आएपनि पराजित गर्न सक्ने सामर्थ्य एमालेसँग रहेको बताउँदै एमालेलाई चुनौती दिएर आँखामा आँखा जुधाएर आउन सक्ने कसैको तागत नभएको सुनाउनुभयो।स्कुल विभागका सचिव ईश्वरी रिजालले एमाले पार्टीहरुको पनि महापार्टी भएको दाबी गर्नुभयो । दोलखा एमाले अध्यक्ष इश्वर चन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यकर्ता भेला कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य शान्ति पाख्रिन, युवा संघका केन्द्रीय उपाध्यक्ष उर्मिला सुनुवार, एमाले दोलखाका सहसचिव डबल पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

Shares

Be the first to comment on "दोलखामा एमालेको कार्यकर्ता भेला सम्पन्न"

Leave a comment

Your email address will not be published.


*