इस्वर विक ,चरिकोट– दोलखामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार प्राप्त पिसिआर परीक्षणको रिपोर्टअनुसार भीमेश्वर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित चरिकोट अस्पतालको आईसोलेसनमा रहेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या १ मात्र रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म ३ हजार ५ सय १५ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि थियो । त्यसमध्ये ३ सय ५४ जना संक्रमण मुक्त भएका छन् । १ संक्रमित महिलाको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत सपना केसीले बताइन् । कार्यालयका अनुसार अन्य पालिकाको तुलनामा भीमेश्वर नगरपालिकामा सबैभन्दा बढी १ हजार ३ सय ३९ जनाको पिसिआर परिक्षण गरिएको थियो । त्यसमध्ये २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएकामध्ये २ सय १६ जना कोरोना मुक्त भएको जनस्वास्थ्य अधिकृत सपना केसीले बताइन् । गौरीशंकर गाउँपालिका ५ सय जनाको पिसिआर परिक्षण गरिएकोमा १७ जना, कालिन्चोक गाउँपालिकामा ४ सय २१ जनामा परीक्षण गरिएकोमा १४ जना, विगुमा ५ सय ७७ जनाको परीक्षण गरिएकोमा ३५ जना कोरोना संक्रमण पुष्टि भएको थियो ।
तामाकोशी गाउँपालिकामा २ सय ३९ जनामा परीक्षण गरिएकोमा ३० जनामा जिरी नगरपालिकामा १ सय जनाको परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै मेलङु १ सय ११ जनामा परिक्षण गरिएकोमा १७ जनामा, बैतेश्वर १ सय ३२ जनामा परीक्षण गरिकोमा १८ जनामा र शैलुङमा ६१ जना परीक्षण गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित सबै संक्रमण मुक्त भईसकेका छन् ।
सावधानी अपनाउन अनुरोध
छिमेकी देश भारतमा संक्रमितको संख्या ह्वात्तै बढेकोले नेपालमा पनि संक्र्रमण बढ्न सक्ने भन्दै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य गर्न÷ गराउन प्रतिबन्ध लगाइएको छ । साथै संक्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
नेपालमा थप १५० जनामा कोरोना पुष्टि
नेपालमा थप १५० जनामा कोरोना पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १५० जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ७६ हजार ५६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १०१७ रहेको छ ।. त्यस्तै पछिल्लो २४ घण्टामा ९९ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७२ हजार २० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४७२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ४० हजार ९९८ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ५१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १०१७ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१९ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
Be the first to comment on "दोलखामा एक जना नयाँ सक्रिय संक्रमित फेला"