ईश्वर विश्वकर्मा
चरिकोट, साउन ५
दोलखामा आयुर्वेद अस्पताल निर्माण गर्ने योजना बनाइएपनि जग्गा अभाव हुँदा समस्या भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद पद्धतिको अत्याधुनिक उपचार दिने उद्देश्यसहित २५ शैयाको अस्पताल निर्माणको लागि एक वर्षदेखि जग्गा खोजेको भएपनि प्राप्त गर्न नसक्दा अस्पताल बनाउने योजना अलपत्र हुने सम्भावना बढेको जनाएको छ ।
केन्द्रका सूचना अधिकारी हरिनारायण महत्तोले जिल्लामा आयुर्वेद उपचार प्रति नागरिकको आकर्षण बढिरहेको बेला गुणस्तरीय र अत्याधुनिक उपचारका लागि शैया सहितको अस्पताल निर्माणको योजना बनाइएपनि जग्गा अभाव रहेको बताउनुभयो । अस्पताल निर्माण गर्ने योजनालाई सफल बनाउने उद्देश्य सहित प्रदेश सरकारले डिपिआर तयार पार्न करिब सात लाख रुपैयाँ चालु आवमा विनियोजन गरेको छ । तर अघिल्लो आवदेखि नै उपयुक्त जग्गा पाउन गरेको प्रयास असफल भएपछि अस्पतालको डीपीआर निर्माणको बजेट कार्यान्वयन नहुने अवस्था देखिएको सूचना अधिकारी महत्तोले बताउनुभयो । “अस्पताल बनाउन प्रदेशले डिपिआरको बजेट पठाएको छ । उसले बेलाबेलामा भवन निर्माणको सुरु गर्न भनिरहेको छ । तर जग्गा नहुँदा तत्काल डिपिआर निर्माण नहुने सम्भावना बढेको छ ।” उहाँले भन्नुभयो “केन्द्रका तर्फबाट जग्गा प्राप्तिका लागि अनेकौँ प्रयास भइरहेका छन् । तर अहिले सम्म उपयुक्त जग्गा उपलब्ध हुन सकेको छैन ।” जडिबुटी उद्यान सहितको अस्पताल निर्माणका लागि नौ रोपनी जग्गा आवश्यक देखिएको छ । जग्गा प्राप्तिका लागि भीमेश्वर नगरपालिकासँग अघिल्लो वर्ष प्रस्ताव राखेपनि प्रदेश सरकारले हेर्छ, भनी नगरपालिका पन्छिएको थियो । तर अहिले नयाँ जनप्रतिनिधिले भने जग्गा उपलब्धताका लागि सहयोग गर्ने बताएका छन् । सूचना अधिकारी महत्तोले जिल्लामा आयुर्वेद अस्पताल निर्माण हुँदा प्रभावकारी उपचार सेवा पाइ नागरिकहरू खुशी हुने बताउँदै जग्गा प्राप्त हुने बित्तिकै अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र औषधी मात्र वितरण भइरहेकोमा अस्पताल बनेपछि बिरामीलाई भर्ना नै गरी चिकित्सकद्वारा भरपर्दो र विश्वसनीय तवरबाट आयुर्वेदिक पद्धतिमार्फत उपचार हुने उहाँको भनाइ रहेको छ ।
Be the first to comment on "दोलखामा आयुर्वेद अस्पताल निर्माणको लागि जग्गा अभाव"