दोलखामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

दीक्षण समाचार
चरिकोट, मंसिर १८
दोलखामा पनि शुक्रबार ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने राष्ट्रिय नाराको साथ विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । हरेक वर्ष डिसेम्बर ३ तारिखमा मनाइने यो दिवसको अवसरमा अपाङ्गता तथा दृष्टिविहीन समुदाय सेवा संघले सदरमुकाम चरिकोटमा कार्यक्रम आयोजना ग¥यो । भीमेश्वर नगरपालिका र ह्यान्डीक्याप इन्टरनेशलको सहयोगमा आइओएमको हलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले अपाङ्गता भएका व्यक्तिले परिवार तथा समाजमा सम्मानित भएर बाँच्न पाउने गरी उनीहरुलाई राज्यको तर्फबाट हकअधिकार दिइएको बताउनुभयो । उनीहरुप्रति समाजले हेर्ने दृष्टिकोण सकरात्मक बनाउन आवश्यक रहेको सुनाउँदैँ उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई घरपरिवार तथा समाजले बोझको रुपमा लिन नहुने बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिले हकअधिकार उपयोगसँगै क्षमताअनुसारको रोजगारीको अवसर पाएमा आत्मनिर्भर बन्न सक्छन् । उनीहरुलाई हरेक परिवारले बोझ होइन, गहनाको रुपमा लिनुपर्छ ।” नगर प्रमुख केसीले भन्नुभयो । अपाङ्गता तथा दृष्टिविहीन समुदाय सेवा संघका अध्यक्ष रामकृष्ण तामाङको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका सामाजिक विकास शाखाका बरिष्ट कार्यक्रम अधिकृत नारायण प्रसाद सेढाईं, आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबिच दिवसको अवसरमा चरिकोटमा अपाङ्गतामैत्री सामुदायिक पुस्तकालय प्रबद्र्धनमा हाम्रो प्रतिबद्धता सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । ए .एस. वि जर्मनी, रिड नेपाल र गौरीशंकर सामुदायिक पुस्तकालयको साझेदारीमा संचालित नेपालमा अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण परियोजना ३ अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो ।

पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा दोलखा जिल्ला सहित अन्य जिल्लाका पुस्तकालयका पदाधिकारी, जनप्रतिनीधी लगायतको भर्चुअल माध्यममार्फत सहभागिता रहेको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई पूस्तकालयमा समाबेश गराउनको लागि आबश्यककता अनुसार पुस्तकालयको विधान संसोधन गर्ने, अपाङ्गता भएका व्यक्तिहरुलाई साधारण तथा आजीवन सदस्य बन्नको लागि प्रोत्साहन गर्ने लगाएतका १८ बुँदे घोषणा पत्र जारी गरिएको छ । संयुक्त राष्ट्र संघले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गता सम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाउन थालिएको हो । यो वर्ष दिवसको अन्तराष्ट्रिय नारा ’समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ रहेको थियो ।

Shares

Be the first to comment on "दोलखामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*