दोलखाको सबै पालिकामा कार्यपालिकाले पायो पूर्णता

दीक्षण समाचार
चरिकोट, जेठ २१
दोलखाको नौ वटै पालिकाको कार्यपालिकाले पूर्णता पाएको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भएको १५ दिन भित्र कार्यापालिका सदस्य चयनका लागि निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । सोही अनुसार जिल्लाका नौ वटै पालिकाहरुले महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य चयन गरेसँगै कार्यपालिकाले पूर्णता पाएको हो ।
बैतेश्वर र मेलुङ गाउँकार्यपालिका सदस्यहरु निर्विरोध चयन भएका र अन्य पालिकामा भने निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । १९ गते भीमेश्वर नगरपालिका, शैलुङ, विगु र कालिञ्चोक गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचन भएको छ, भने जिरी नगरपालिका, तामाकोशी र गौरीशंकर गाउँपालिकामा यसअघि नै निर्वाचन सम्पन्न भई कार्यपालिका सदस्य चयन गरिएको थियो ।
निर्वाचन कार्यालयका अनुसार भीमेश्वर नगरपालिकामा महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्यमा सबै एमालेबाट निर्वाचित भएका छन् । महिला सदस्यमा किरण ओली, खेम कुमारी श्रेष्ठ, शुसिला खड्का, मिना विश्वकर्मा र मुना श्रेष्ठ निर्वाचित हुनुभएको छ । दलित वा अल्पसंख्यकमा गोपाल बहादुर थामी, गोरे बहादुर सार्की र भीम बहादुर भुजेल निर्वाचित हुनुभएको छ ।
विगु गाउँपालिकामा पनि सबै सदस्य पदमा एमालेबाट कार्यपालिका निर्वाचित भएका छन् । महिला सदस्य पदमा ज्योतिमाया थामी, गोमा केसी, मैँया तामाङ, टहलमाया तामाङ निर्वाचित हुनुभएको छ । त्यसैगरी दलित वा अल्पसंख्याकमा छिरिवाङ्जे शर्पा र लोक बहादुर नेपाली निर्वाचित हुनुभएको छ ।
शैलुङ कार्यापालिकाको सबै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा चम्ुसरी कार्की, बन्दना पाख्रिन, मसिन्द्रा नेपाली र सन्तोषी कार्की निर्वाचित हुनुभएको छ । त्यसैगरी दलित वा अल्पसंख्यकतर्फ युवराज घतानी र विशाल बिक निर्वाचित हुनुभएको छ ।
कालिञ्चोक गाउँपालिकामा महिला सदस्यमा माओवादी केन्द्र सुनिता कार्की र गोपिनी दर्जी, नेकपा एमालेका तारामाया थामी र नेपाली कांग्रेसका विनिता शिवाकोटी निर्वाचित चयन हुनुभएको छ । दलित वा अल्पसंख्याक पदमा नेपाली कांग्रेसबाट भवानी थापा र नेकपा माओवादीका बजुराम घतानी निर्वाचित हुनुभएको छ ।
जिल्लाको सबै पालिकामा कार्यपालिकाले पूर्णता पाएसँगै जिल्ला समन्वय समितिको निर्वाचनको प्रक्रिया सुरु भएको छ । कार्यपालिकाको निर्वाचन भएपछि १५ दिन भित्र जिल्ला समन्वय समितिको निर्वाचन गर्नुपर्ने प्रावधान छ । उक्त निर्वाचनमा स्थानीय तहका अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुखले जिल्ला समन्वय समितिका पदाधिकारी चयनका लागि मतदान गर्न पाउने छन् ।

Shares

Be the first to comment on "दोलखाको सबै पालिकामा कार्यपालिकाले पायो पूर्णता"

Leave a comment

Your email address will not be published.


*