दीक्षण समाचार
चरिकोट, मंसिर २७
दोलखाको चार पालिकामा दश दिने मतदाता नामावली संकलन विशेष कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणअन्तर्गत मंसिर १७ देखि सुरु भएको कार्यक्रम जिल्लाको गौरीशंकर, विगु, कालिञ्चोक र शैलुङ गाउँपालिकामा आइतबार सम्पन्न भएको हो ।
पालिकामा सञ्चालित कार्यक्रमबाट आठ सय ४१ महिला र आठ सय ४९ पुरुष गरी एक हजार ६ सय ९० जनाको फोटो सहितको नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दर्ता अधिकारी विशाल के.सीले बताउनुभयो । उहाँका अनुसार गौरीशंकर गाउँपालिकामा एक सय ८३ पुरुष र एक सय ५१ जना महिला गरी तीन सय ३४ जना, विगु गाउँपालिकामा चार सय ८८ जना पुरुष र पाँच सय १ महिला गरी ९ सय ८९ जनाले नाम दर्ता गराएका छन् । त्यसैगरी कालिञ्चोक गाउँपालिकामा ६१ पुरुष र ७८ महिला गरी एक सय ३९ जना र शैलुङ गाउँपालिकामा एक सय १७ पुरुष र एक सय ११ महिला गरी दुई सय २८ जना नाम दर्ता गराएका छन् । त्यसैगरी जिल्ला निर्वाचन कार्यालयमा ३४ जना पुरुष र २८ जना महिला गरी ६२ जना र जिल्ला प्रशासन कार्यालयमा ९४ पुरुष र ६३ महिला गरी एक सय ५६ जनाको नामावली संकलन भएको छ । अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ । पहिलो चरणको विषेश कार्यक्रम अवधिभर बाहिरी जिल्लामा स्थायी ठेगाना भएका १२ पुरुष र दुई महिला गरी १४ जनाले निर्वाचन कार्यालय दोलखामा नाम दर्ता गराएका प्रमुख दर्ता अधिकारी के.सीले जानकारी दिनुभयो । मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म दोश्रो चरणअन्तर्गत जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिकाको कार्यालयमा मतदाता नामावली संकलन हुनेछ । भीमेश्वर नगरपालिकाको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा कार्यक्रम अवधिभर हुनेछ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रम अन्तर्गत नजिकिदैँ गरेको स्थानीय, प्रदेश र संघको निर्वाचनलाई दृष्टिगत गर्दै मतदाता नामावली संकलन विषेश कार्यक्रम, २०७८ दोलखामा पनि पालिकास्तरमा सञ्चालन गरिएको हो । यो कार्य जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट नियमित भईरहेकोमा नागरिकलाई सहजताको लागि पालिका स्तरमा गरिएको बताइएको छ । कोही नछुटुन्, कोही नदोहोरिउन्, भन्ने नारासहित हुने यस कार्यक्रममा मतदाता बन्न चाहने व्यक्तिको नाम दर्ता र तस्बिर खिचिने छ । तोकिएको समयभित्र जिल्ला निर्वाचन कार्यालय दोलखामा बाहिरी जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था गरिएको प्रमुख दर्ता अधिकारी के.सीले बताउनुभयो ।
Be the first to comment on "दोलखाको चार पालिकाबाट १ हजार ६९० जनाको मतदाता नामावलीमा नाम दर्ता"